बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

theoutsidenepal.com

बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

द टन न्युज । काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी नेपाल एयरलाइन्सको दिउँसो १:३० बजेको उडानबाट भारततर्फ प्रस्थान गरेका हुन्।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकअन्तर्गत पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो। क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस बैठकलाई दक्षिण एसिया तथा बंगालको खाडी क्षेत्रका सदस्य राष्ट्रबीच सुरक्षा समन्वय विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

बैठकमा बिमस्टेकका सात सदस्य राष्ट्र—बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू सहभागी हुनेछन्।

बैठकमा आतंकवाद नियन्त्रण, सीमापार अपराध न्यूनीकरण, कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य, गुप्तचर सूचनाको आदानप्रदान तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायत बहुआयामिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसअघि विभिन्न चरणमा सम्पन्न गृहसचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका सुरक्षा एजेन्डाहरू पनि मन्त्रीस्तरीय छलफलका आधार बन्नेछन्।

सन् २०१८ अगस्टमा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन गर्ने निकाय, गुप्तचर संयन्त्र तथा सुरक्षा एजेन्सीबीच सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता जनाएका थिए। सोही सम्मेलनले आतंकवाद तथा सीमापार अपराध नियन्त्रणमा सहकार्य बढाउन गृहमन्त्रीस्तरीय बैठक र राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठकलाई निरन्तरता दिने निर्णय गरेको थियो।

मन्त्रीस्तरीय बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका गृहसचिवहरूको बैठकसमेत आयोजना हुने नेपाली अधिकारीहरूले जनाएका छन्।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसहित अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम रहेको छ। ती छलफलमा नेपाल–भारत सुरक्षा सहकार्य, क्षेत्रीय स्थायित्व र साझा सुरक्षा चुनौतीका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

बिमस्टेकको यस ऐतिहासिक गृहमन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, सुरक्षा समन्वय र संस्थागत सहकार्यलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया