राष्ट्रको अन्तर्राष्ट्रिय मर्यादा खस्किँदै गएकोप्रति प्रिन्स युवराज कार्कीको चिन्ता

theoutsidenepal.com

काठमाडौं। युवा व्यवसायी प्रिन्स युवराज कार्कीले राष्ट्रको अन्तर्राष्ट्रिय मर्यादा र कूटनीतिक हैसियत कमजोर बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमार्फत उनले हालको राज्य सञ्चालन र कूटनीतिक अभ्यासप्रति प्रश्न उठाएका हुन्।


कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालजस्तो सार्वभौम राष्ट्रका राष्ट्रप्रमुखलाई अन्तर्राष्ट्रिय स्तरमा प्राप्त हुने औपचारिक सम्मान कमजोर देखिन थालेको टिप्पणी गरेका छन्। उनका अनुसार विदेश भ्रमणका क्रममा राष्ट्रप्रमुखलाई समकक्षी राष्ट्रप्रमुखबाट हुने स्वागत नै कूटनीतिक हैसियतको मापन हो, तर पछिल्लो समय त्यो स्तर खस्किएको देखिन्छ।


“एक समय अन्तर्राष्ट्रिय मञ्चमा शानका साथ उभिने नेपाल आज किन यस्तो अवस्थामा पुग्यो भन्ने प्रश्न आम नागरिकको मनमा उब्जिएको छ,” कार्कीले लेखेका छन्। उनले यस अवस्थाको मुख्य कारण वर्षौंको अदूरदर्शी नेतृत्व र कमजोर कूटनीतिक अभ्यास भएको उल्लेख गरेका छन्।


स्टाटसमा उनले विगत र वर्तमानको तुलना गर्दै भनेका छन् कि इतिहास हेर्दा पूर्वराजाहरूको पालामा कम्तीमा देशको स्वाभिमान, अन्तर्राष्ट्रिय इज्जत र मर्यादा सुरक्षित थियो। तर अहिले सत्तामा रहेका नेतृत्वले त्यो गरिमा जोगाउन नसकेको उनको दाबी छ।


कार्कीले आफ्नो अभिव्यक्ति कुनै व्यक्ति विशेषमाथिको आक्रमण नभई राष्ट्रको सम्मानसँग जोडिएको विषय भएको स्पष्ट पारेका छन्। समयमै आत्ममन्थन र सुधारको पहल नगरे नेपालको अन्तर्राष्ट्रिय पहिचान अझै कमजोर हुँदै जाने चेतावनीसमेत उनले दिएका छन्।


उनको यो धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ भने कूटनीति र राष्ट्रिय गरिमासम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।


प्रतिक्रिया