नेपाल–भारत पर्यटन कनेक्ट : चितवन र नवलपुरका पर्यटकीय गन्तव्यमा भारतीय व्यवसायीको अवलोकन
द टन न्युज । चितवन ।
नेपालको पर्यटनलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने तथा दुई देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ को दोस्रो दिन भारतीय पर्यटन व्यवसायीहरूले चितवन, नवलपुरलगायत क्षेत्रका विभिन्न होटल, रिसोर्ट तथा पर्यटकीय गन्तव्यको भ्रमण गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा भारतका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी छन्। भ्रमणका क्रममा उनीहरूले नेपाली होटल तथा रिसोर्टका सेवा, पर्यटकीय पूर्वाधार, स्थानीय संस्कृति र विभिन्न गन्तव्यको व्यावसायिक सम्भावनाबारे जानकारी लिएका छन्।
कार्यक्रमअन्तर्गत भारतीय प्रतिनिधिहरूले चितवनका पर्यटकीय गतिविधि तथा वन्यजन्तु पर्यटनको सम्भावनाबारे अवलोकन गरेका छन्। साथै, चितवन र नवलपुरका होटल तथा रिसोर्टमा उपलब्ध सेवा र पर्यटनसँग जोडिएका व्यावसायिक अवसरबारे पनि छलफल गरिएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचन, उपाध्यक्ष प्रविण गुरुङ, पूर्वउपाध्यक्ष रामेश्वर शाह, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोम नाथ सापकोटा, पर्यटन तथा वातावरण विज्ञ पीके शेर्पा, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल तथा होटल व्यवसायी महासंघ नेपालका सदस्य विष्णुप्रसाद घिमिरेलगायत स्थानीय होटल तथा पर्यटन व्यवसायी सहभागी छन्।
यस कनेक्टको मुख्य उद्देश्य भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यसँग प्रत्यक्ष जोड्दै संयुक्त पर्यटन प्याकेज निर्माण र दीर्घकालीन व्यावसायिक साझेदारीको आधार तयार गर्नु हो। भारतीय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न सके पर्यटक आगमन वृद्धि हुनुका साथै होटल, रिसोर्ट, यातायात, स्थानीय उत्पादन तथा सामुदायिक पर्यटनसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
नेपालका विविध पर्यटकीय आकर्षणलाई एउटै सञ्जालमा जोड्ने लक्ष्यसहित लुम्बिनीको धार्मिक तथा बौद्ध सम्पदा, चितवनको वन्यजन्तु पर्यटन र थारु संस्कृति, नवलपुरको मगर संस्कृति तथा सामुदायिक पर्यटनलाई भारतीय पर्यटकमाझ प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। यसबाट धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई समेटेर आकर्षक पर्यटन प्याकेज निर्माण गर्न सकिने विश्वास आयोजकले लिएका छन्।
नेपाल र भारतबीच भौगोलिक निकटता, सांस्कृतिक समानता तथा धार्मिक सम्बन्ध रहेको अवस्थामा यस्ता व्यावसायिक कार्यक्रमले दुई देशबीच पर्यटन आदानप्रदान बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। भारतीय पर्यटन व्यवसायीको प्रत्यक्ष अवलोकन र नेपाली व्यवसायीसँगको अन्तरक्रियाले नेपालका गन्तव्यलाई भारतीय बजारमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
‘सीमा जोड्दै, मित्रता बढाउँदै, पर्यटन विस्तार गर्दै’ भन्ने नारासहित आयोजना गरिएको नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ ले नेपाली पर्यटन व्यवसायीलाई भारतीय बजारसम्म पहुँच विस्तार गर्न, नयाँ व्यावसायिक साझेदारी विकास गर्न र नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।