प्रवासी नेपालीका मुद्दा बोकेर कांग्रेस केन्द्रीय सदस्यमा रामजीवी पन्थको उम्मेदवारी

theoutsidenepal.com

प्रवासी नेपालीका मुद्दा बोकेर कांग्रेस केन्द्रीय सदस्यमा रामजीवी पन्थको उम्मेदवारी

द टन न्युज । विशेष रिपोर्ट

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँका रामजीवी पन्थले अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रवासमा रहेर लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका पन्थले आफ्नो उम्मेदवारीलाई प्रवासी नेपालीका अधिकार, समस्या र आवाजलाई कांग्रेसको केन्द्रीय नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

पन्थ नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक हुन्। उनले नेपाली जनसम्पर्क समिति जर्मनीबाट कांग्रेसको १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाबाट १५औँ महाधिवेशन प्रतिनिधिका रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन्।

उम्मेदवारी घोषणा गर्दै पन्थले दोहोरो नागरिकताको अधिकारको प्रभावकारी कार्यान्वयन, विदेशबाट मतदान गर्ने अधिकार तथा दोहोरो करसम्बन्धी समस्या समाधानलाई आफ्ना प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।

त्यसैगरी, विश्वभर रहेका नेपाली जनसम्पर्क समितिहरूलाई नेपाली कांग्रेसको मूल संगठनसँग अझ सशक्त रूपमा जोड्ने तथा प्रवासमा रहेका नेपालीका समस्या र आवाजलाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका श्रम, पारिश्रमिक, सुरक्षा तथा कानुनी अधिकारसँग सम्बन्धित समस्याका विषयमा सम्बन्धित निकाय र नीति निर्माण तहमा प्रभावकारी रूपमा आवाज उठाउने पन्थको भनाइ छ।

प्रवासमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार तथा नेपाली समुदायका सुख–दुःखमा निरन्तर जोडिँदै आएका पन्थले आफ्नो उम्मेदवारीमार्फत प्रवासी नेपाली र कांग्रेसबीचको सम्बन्धलाई थप संस्थागत बनाउने लक्ष्य अघि सारेका छन्।

उनको उम्मेदवारीलाई प्रवासी नेपालीका मुद्दालाई कांग्रेसको केन्द्रीय राजनीतिक बहससँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। पन्थले आफूलाई समर्थन, सहयोग र विश्वास प्रदान गर्न प्रवासी नेपाली कांग्रेसका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।


प्रतिक्रिया