विश्व पर्यटन दिवसको अवसरमा ‘ भरतपुर ह्याकाथन २०२६ प्रतियोगिता ’ सुरु
भरतपुर ह्याकाथन २०२६ — प्रविधिबाट पर्यटन पुनःपरिकल्पना गर्ने प्रयास
भरतपुर । विश्व पर्यटन दिवस २०२६ को अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर ह्याकाथन २०२६ प्रतियोगिता ’ सुरु भएको छ। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा भरतपुर महानगर क्षेत्रका १० वटा सूचना प्रविधिसम्बन्धी कलेजका विद्यार्थी तथा टोलीहरू सहभागी भएका छन्।
भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पस, कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा आयोजित ह्याकाथनको उद्घाटन समारोहमा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले सहभागी प्रतियोगीहरूलाई शुभकामना दिँदै सिर्जनात्मक सोच र प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासमा योगदान पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार डा. विश्व सुवेदीले ह्याकाथनको मूल विषयवस्तु तथा उद्देश्यबारे प्रकाश पार्दै भरतपुरलाई पर्यटन नगरीका रूपमा विकास गर्न सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले पर्यटन क्षेत्रमा देखिएका चुनौतीको पहिचान गर्दै प्रविधिमा आधारित नयाँ समाधान विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
त्यसैगरी भरतपुर महानगरपालिकाका खेल तथा पर्यटन सल्लाहकार अनिल अधिकारीले प्रतियोगितामा सहभागी विद्यार्थी तथा टोलीहरूलाई शुभकामना व्यक्त गर्दै सूचना प्रविधि, सिर्जनशीलता र नयाँ सोचलाई भरतपुरको पर्यटन विकाससँग जोड्न ह्याकाथन महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले सहभागी प्रतियोगीहरूलाई नवीन अवधारणा र व्यावहारिक समाधान प्रस्तुत गर्दै भरतपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन शुभकामना दिनुभयो।
यस वर्षको ह्याकाथनको मुख्य विषय “Digital Agenda and Artificial Intelligence to Redesign Tourism” रहेको छ। सहभागी विद्यार्थी तथा प्राविधिक टोलीहरूले डिजिटल प्रविधि, एआई तथा नवीनतम प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन प्रवर्द्धन, पर्यटकीय सूचना, सेवा तथा गन्तव्य व्यवस्थापनलगायतका क्षेत्रमा नयाँ अवधारणा र समाधान प्रस्तुत गर्नेछन्।
प्रतियोगितामा वीरेन्द्र क्याम्पसका प्रध्यापकद्वय पृथ्वीराज सुवेदी र शोवराज पौडेल मेन्टर, सूचना प्रविधि अधिकृतहरू विकल्प काफ्ले, प्रवीण भण्डारी, सुजन लौडारी निर्णायक रहनु भएको कार्यक्रमको सहजीकरण भरतपुर महानगरपालिकाको पर्यटन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्नुभएको थियो।
महानगरपालिकाले विश्व पर्यटन दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी युवा पुस्ताको प्रविधि, सिर्जनशीलता र कृत्रिम बुद्धिमत्तालाई भरतपुरको पर्यटन विकाससँग जोड्ने प्रयासस्वरूप ह्याकाथन आयोजना गरेको जनाएको छ।