गुटेरेसको चेतावनी : तीन वर्षअघि सगरमाथाबाट दिएको सन्देश अहिले नेपालकै घटनाले पुष्टि गर्‍यो

theoutsidenepal.com

गुटेरेसको चेतावनी : तीन वर्षअघि सगरमाथाबाट दिएको सन्देश अहिले नेपालकै घटनाले पुष्टि गर्‍यो

६ असोज, न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको सगरमाथा क्षेत्रबाट जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी अहिले नेपालमा देखिएका विपद्का घटनाले वास्तविकतामा परिणत भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहस उद्घाटन गर्दै मंगलबार गुटेरेसले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमपग्लाइ तथा जलवायु परिवर्तनका असरबारे विश्वलाई दिएको चेतावनीलाई स्मरण गरे।

“तीन वर्षअघि नेपालका हिमालबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ। अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ,” उनले भने। उनका अनुसार त्यतिबेला केहीले त्यस्ता चेतावनीलाई अतिरञ्जित ठाने पनि अहिलेका घटनाले जलवायु संकटको प्रभाव अनुमान गरिएभन्दा छिटो र व्यापक रूपमा देखिन थालेको प्रमाणित गरेको छ।

गुटेरेसले जलवायु परिवर्तनको मूल्य कमजोर तथा विकासशील देशहरूले चुकाइरहेको, तर उनीहरूले आवश्यक न्याय र सहयोग प्राप्त गर्न नसकेको बताए। उनले जलवायु न्यायलाई प्राथमिकतामा राख्दै प्रदूषण र त्यसबाट हुने क्षतिको जिम्मेवारी प्रदूषकहरूले लिनुपर्नेमा जोड दिए।

उनले भने, “जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ। यसको असरमा परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ। जलवायु न्याय हुनैपर्छ।”

जलवायु परिवर्तनका असर सामना गर्न आवश्यक आर्थिक स्रोत अत्यन्तै न्यून रहेको उल्लेख गर्दै गुटेरेसले हानि तथा नोक्सानी कोषमा रहेको रकम अपर्याप्त भएको बताए। विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने र अनुकूलन वित्त बढाउनुपर्ने उनको माग थियो।

उनका अनुसार जलवायु संकटमा सबैभन्दा कम योगदान गर्ने देश तथा समुदायले नै यसको सबैभन्दा गम्भीर असर भोगिरहेका छन्। एक पुस्ताले अर्को पुस्ताको भविष्यको स्रोत उपभोग गरिरहेको र केही समूहले जलवायु संकटबाट नाफा कमाइरहेको उनको भनाइ थियो।

गुटेरेसले ठूला तेल कम्पनीहरूले वातावरणीय क्षतिको मूल्यमा ठूलो नाफा कमाएको दाबी गर्दै रुस–युक्रेन युद्धपछि पाँच प्रमुख पश्चिमी तेल कम्पनीहरूले करिब ५०० अर्ब अमेरिकी डलर नाफा कमाएको र विकासशील देशहरूको जलवायु अनुकूलनका लागि करिब ३४ अर्ब डलर मात्र उपलब्ध भएको तथ्य प्रस्तुत गरे।

अन्तर्राष्ट्रिय नियम कमजोर बन्दै गएको चेतावनी

महासचिव गुटेरेसले विश्वमा अन्तर्राष्ट्रिय नियम र बहुपक्षीय प्रणाली कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। द्वन्द्व, असमानता, जलवायु संकट र प्रविधिसम्बन्धी चुनौतीहरू एकअर्कासँग जोडिँदै गएको उनको भनाइ थियो।

मध्यपूर्व, युक्रेन, सुडान र म्यानमारलगायत क्षेत्रमा जारी द्वन्द्वले विश्वव्यवस्थामा गहिरो असर पारिरहेको उल्लेख गर्दै उनले युक्रेनमाथिको रुसी आक्रमणलाई संयुक्त राष्ट्रसंघीय बडापत्रको उल्लंघनका रूपमा व्याख्या गरे। गाजाका सन्दर्भमा अन्तर्राष्ट्रिय अदालतका आदेश पालना गर्नुपर्नेमा पनि उनले जोड दिए।

ऋणको भारी बोकेका विकासशील देशहरूलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार गर्न पनि उनले आह्वान गरे।

प्रविधि आफैंमा खतरा नभए पनि जवाफदेहिताविहीन प्रविधि खतरनाक हुनसक्ने चेतावनी दिँदै गुटेरेसले जीवन–मृत्युसम्बन्धी निर्णय मेसिनको हातमा छोड्न नहुने बताए। उनले घातक स्वायत्त हतियार अर्थात् ‘हत्यारा रोबोट’को प्रयोग रोक्नुपर्ने धारणा पनि राखे।

आफ्नो कार्यकाल सकिन करिब १०० दिन बाँकी रहेको उल्लेख गर्दै गुटेरेसले संयुक्त राष्ट्रसंघीय बडापत्रका मूल्यमान्यता, अन्तर्राष्ट्रिय शान्ति र बहुपक्षीय प्रणालीको रक्षाका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, महासभाका अध्यक्ष तथा बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले जलवायु परिवर्तनविरुद्ध विश्व समुदायको सामूहिक प्रयास पर्याप्त नभएकै कारण चीन र नेपाललगायत देशमा बाढी तथा अन्य विपद्बाट ठूलो क्षति भइरहेको बताए।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले ८१औँ महासभाको उच्चस्तरीय बहसलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत राई तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी छन्।


प्रतिक्रिया