काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र विश्वसनीय बनाउन नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गर्दै निर्वाचन सुरक्षा योजना लागू गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनका क्रममा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। सो केन्द्रीय निर्वाचन सेलको प्रमुख तोकिएका एआईजी चतुर्वेदी हाल प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रमुख हुन्।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले केन्द्रीय निर्वाचन सेल १५१ सदस्यीय रहेको जानकारी दिँदै निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण काम–कारबाही उक्त सेलमार्फत सञ्चालन भइरहेको बताए।
उनले भने, “कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरेर निर्वाचन सुरक्षासम्बन्धी गतिविधि अघि बढाइएको छ।”
केन्द्रीय तहसँगै प्रदेश तथा जिल्लास्तरमा पनि निर्वाचन सुरक्षा सेल गठन गरिएको प्रहरीले जनाएको छ। यस्तै, सशस्त्र प्रहरी बलले पनि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेश उप्रेतीको कमान्डमा केन्द्रीय निर्वाचन सेल गठन गरी सुरक्षा तयारी तीव्र बनाएको छ।
सुरक्षा निकायले निर्वाचन अवधिभर मतदाता, उम्मेदवार, मतदान केन्द्र तथा मतगणनास्थलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेको जनाइएको छ।