विपद्को जोखिम न्यूनीकरणमा अभूतपूर्व सहकार्य गर्न आईजीपी दानबहादुर कार्कीको आह्वान
द टन न्युज । काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्भावित वर्षा, हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सम्पूर्ण नागरिक, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग अभूतपूर्व सहकार्य गर्न आह्वान गरेका छन्।
आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै विपद्बाट जनधनको सुरक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। उनले नेपाल प्रहरी आफ्नो मूल जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सम्भावित विपद्का बेला नागरिकको सुरक्षाका लागि सधैँझैँ सक्रिय रहने स्पष्ट पारेका छन्।
उनले विशेषगरी सञ्चारकर्मीहरूको भूमिकालाई महत्त्वपूर्ण बताउँदै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्। विपद्को अवस्थामा तथ्यपूर्ण, निष्पक्ष र साहसिक पत्रकारिताले जनचेतना अभिवृद्धि गर्नुका साथै सम्भावित क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।
आईजीपी कार्कीले सञ्चारकर्मीहरूलाई समाचार संकलन तथा सम्प्रेषणका क्रममा कुनै पनि प्रकारको बाधा अवरोध हुन नदिन नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको समेत बताएका छन्।
उनले सञ्चारकर्मीको स्वतन्त्र र व्यावसायिक भूमिकाको सम्मान गर्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद् व्यवस्थापन केवल सुरक्षा निकायको जिम्मेवारी मात्र नभई राज्यका सबै निकाय, सञ्चारमाध्यम र आम नागरिकको साझा अभियान भएको सन्देश दिँदै आईजीपी कार्कीले सबै पक्षबीच सहकार्य, समन्वय र जिम्मेवार भूमिकाको अपेक्षा गरेका छन्।
संकटको समयमा नागरिकको सुरक्षा, सही सूचना र जिम्मेवार पत्रकारिता—विपद् न्यूनीकरणका तीन महत्त्वपूर्ण आधार हुन्।