पुनः सञ्चालनमा आयो बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल, ६/७ दिनमै ६८८ स्वयंसेवक परिचालन

theoutsidenepal.com

पुनः सञ्चालनमा आयो बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल, ६/७ दिनमै ६८८ स्वयंसेवक परिचालन

धादिङ । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ।

बाढीका कारण अस्पतालको भुइँतलामा हिलो तथा लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरणलगायत महत्वपूर्ण सामग्रीमा क्षति पुगेपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। तर स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा स्वयंसेवकको निरन्तर प्रयासपछि अस्पताल छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको हो।

गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि ६/७ दिनको अवधिमा करिब ६८८ जना स्वयंसेवक परिचालन भएका थिए।

उनका अनुसार अस्पताल पुनः सञ्चालनका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री जुटाउन विभिन्न क्षेत्रबाट उल्लेखनीय सहयोग प्राप्त भएको थियो। विशेषगरी ताइवानस्थित बौद्ध त्जु ची च्यारिटी फाउन्डेसनको सहयोग महत्वपूर्ण रहेको उनले बताए।

“सरसफाइदेखि पुनःस्थापनासम्म विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भयो। चुजी फाउन्डेसनको सहयोग पनि महत्वपूर्ण रह्यो। आवश्यक उपकरण एक साताभित्रै उपलब्ध भएपछि अस्पताल पुनः सञ्चालन गर्न सफल भयौं,” दुलालले भने।

अस्पताल सञ्चालनका लागि आवश्यक अधिकांश उपकरण प्राप्त भइसकेका छन्। एक्स–रे मेसिन भने आउने क्रममा रहेको र छिट्टै अस्पतालमा आइपुग्ने दुलालले जानकारी दिए।

२२७ प्रकारका औषधि र ५९ प्रकारका सर्जिकल सामग्री सहयोग

अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनमा कठिनाइ भइरहेका बेला गल्छी गाउँपालिकाको पहलमा ताइवानस्थित वृद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनले सहयोग गरेको हो।

आइतबार आयोजित कार्यक्रममा फाउन्डेसनकी उपाध्यक्ष लेन पि युले अस्पताललाई विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिन्।

बैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकर दाहालका अनुसार फाउन्डेसनले आकस्मिक उपचारमा आवश्यक पर्ने करिब २२७ प्रकारका औषधि, ५९ प्रकारका सर्जिकल सामग्री तथा विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको छ।

सहयोगमा यूएसजी मेसिन, एनेस्थेसिया मेसिन, प्रयोगशालाका आवश्यक उपकरण लगायत अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा फर्निचरसमेत रहेका छन्।

कार्यक्रममा फाउन्डेसनकी उपाध्यक्ष लेन पि युले विपद्बाट क्षतिग्रस्त अस्पताललाई छोटो समयमै आवश्यक उपकरण व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याउनु उदाहरणीय कार्य भएको बताइन्। विपद्का समयमा एकअर्कालाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै उनले भोटेकोसीको बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको गम्भीर विपत्तिका रूपमा व्याख्या गरिन्।

गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले अस्पताल पुनः सञ्चालनमा सहयोग गर्ने फाउन्डेसन, सुरक्षा निकाय, विभिन्न संघसंस्था, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे।

गाउँपालिका स्वयं विपद्बाट प्रभावित भएको अवस्थामा पनि अस्पतालको सरसफाइदेखि आवश्यक स्वास्थ्य सामग्री जुटाउनेसम्म प्राप्त सहयोगले पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष खतिवडाले बताए।

भोटेकोसी बाढीको ठूलो क्षतिका बीच बैरेनी अस्पतालको पुनः सञ्चालनले स्थानीय नागरिकलाई पुनः सहज स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको छ। विपद्पछिको पुनःस्थापनामा स्थानीय समुदाय, स्वयंसेवक, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय मानवीय संस्थाबीचको सहकार्यको यो उदाहरण महत्वपूर्ण बनेको छ।


प्रतिक्रिया