विश्वप्रकाश शर्मा कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित

theoutsidenepal.com

विश्वप्रकाश शर्मा कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विश्वप्रकाश शर्मा पार्टीको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय सभा गृहमा भएको मनोनयन प्रक्रियामा वरिष्ठ उपसभापति पदका लागि शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। 

कांग्रेसले १५औँ महाधिवेशनमार्फत विधान संशोधन गर्दै वरिष्ठ उपसभापति पद पहिलोपटक सिर्जना गरेको हो। उक्त पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ। 

शर्मा यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। त्यसअघि उनी नेपाली कांग्रेसको महामन्त्री थिए। १४औँ महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए। 

विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व संरचनामा आएको परिवर्तनसँगै थापा र शर्माले पार्टीको नयाँ नेतृत्व यात्रामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। १५औँ महाधिवेशनमा गगनकुमार थापा सभापति पदका उम्मेदवार बनेका छन् भने शर्मा वरिष्ठ उपसभापतिको जिम्मेवारीमा निर्विरोध निर्वाचित भएका हुन्। 

कांग्रेसको नयाँ विधानअनुसार अब वरिष्ठ उपसभापतिसहित उपसभापतिको संरचनासमेत विस्तार गरिएको छ। यससँगै पार्टीको पदाधिकारी संरचना अघिल्लो महाधिवेशनको तुलनामा परिवर्तन भएको छ।

प्रतिक्रिया