दिपक कँडेल द्वारा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा

theoutsidenepal.com

दिपक कँडेल द्वारा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्यासिफिक क्षेत्रीय संयोजक पदका लागि दिपक कँडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले “युवा तथा दोस्रो पुस्तामैत्री एनआरएनए” को नारासहित आगामी १२औं महाधिवेशनमार्फत २०२५–२७ कार्यकालका लागि उम्मेदवारी दिएका हुन् ।


उम्मेदवारी घोषणा गर्दै कँडेलले विदेशमा बसोबास गर्ने नेपालीहरूको पहिचान, अधिकार, अवसर र हित संरक्षणका लागि आफू निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे । आगामी दिनमा जिम्मेवारी पाए सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा समुदायलाई अझ नजिक ल्याएर संस्थालाई प्रभावकारी बनाउने प्रतिबद्धता उनले जनाए ।


उनले एसिया–प्यासिफिक क्षेत्र विश्वभरिका नेपालीहरूको सबैभन्दा सक्रिय, ठूलो तथा सम्भावनाले भरिएको क्षेत्र भएको भन्दै यहाँ रहेका नेपालीहरूको समस्या पहिचान, समाधान, अवसर विस्तार तथा संस्थागत समन्वयलाई सुदृढ बनाउन आफू क्रियाशील रहने बताएका छन् ।


यसै क्रममा उनले पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् :


१. युवामैत्री एनआरएनए : युवा सहभागिता, नेतृत्व विकास र अवसर विस्तारसँगै विदेशमा हुर्कँदै गरेका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विशेष कार्ययोजना।

२. सीप, रोजगार र व्यवसायिक साझेदारी : नेपाल र एसिया–प्यासिफिकबीच आर्थिक तथा उद्यमशीलता पुल निर्माण।

३. समुदाय एकता तथा पारदर्शिता : सशक्त, पारदर्शी र सबैलाई समेट्ने संगठन निर्माण।

४. आपतकालीन सहायता संयोजन : संकटमा परेका नेपालीलाई छिटो राहत तथा सहजीकरण।

५. सांस्कृतिक, शैक्षिक तथा आर्थिक सम्बन्ध सुदृढीकरण : नेपाल–एसिया प्यासिफिक सम्बन्ध विस्तारमा सक्रिय पहल।


कँडेलले आफ्नो अभियानलाई सफल बनाउन निरन्तर मार्गदर्शन, सुझाव र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण गैरआवासीय नेपाली समुदायसँग सहकार्यको आह्वान गरेका छन् ।


प्रतिक्रिया