सहमति, सहकार्य र एकताका लागि उम्मेदवारी नदिने जनसम्पर्क समिति पोल्याण्डका सभापतिको घोषणा
काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनसम्पर्क समिति पोल्याण्डका सभापतिले केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दर्ता नगर्ने घोषणा गरेका छन्।
महाधिवेशनस्थल खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनका क्रममा पार्टी सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ऐतिहासिक बौद्धिक पुँजीका रूपमा स्थापित हुने उनले बताएका छन्।
उनले राजनीतिक प्रतिवेदनले इतिहासको सम्मान तथा रक्षा, वर्तमानका योजना र भविष्यको परिकल्पनालाई स्पष्ट रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन नै महत्वपूर्ण पक्ष भएको बताएका छन्। त्यसका लागि साझा प्रयास, एकता, इमानदारिता, अठोट र संकल्प आवश्यक रहेको उनको भनाइ छ।
आफूलाई १५औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा देख्न चाहने अग्रज, समकालीन तथा युवा साथीहरूप्रति आभार व्यक्त गर्दै उनले उनीहरूले आफूलाई देखाएको विश्वास, माया र स्नेहप्रति सम्मान व्यक्त गरेका छन्।
पार्टी र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सहमति, सहकार्य र एकतालाई प्राथमिकता दिँदै उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन्।
उनले आफू अहिले पदभन्दा पनि पार्टीका लागि ‘सिपाही भएर काम गर्ने समय’ भएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। साथै, पार्टीले आवश्यक ठानेर विभिन्न विभागमा जिम्मेवारी दिएमा कर्मनिष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले कांग्रेसको १५औँ महाधिवेशन पूर्ण रूपमा सफल होस् भन्दै शुभकामना व्यक्त गरेका छन्।