सर्लाही–४ मा घण्टीको लहर ? डा. अमरेशकुमार सिंहको पकड बलियो, चुनावी समीकरण रोचक बन्दै

theoutsidenepal.com

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही–४ देशव्यापी चासोको केन्द्र बनेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी मैदानमा उत्रिएसँगै यो क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा परिणत भएको हो। तर बहुप्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. अमरेशकुमार सिंहको पकड बलियो रहेको चर्चा राजनीतिक वृत्तमा बढ्दै गएको छ।


२०७९ सालको निर्वाचनमा स्वतन्त्र उमेदवारका रूपमा ‘माछा’ चुनाव चिह्न लिएर विजयी भएका सिंह यसपटक भने घण्टी चिह्नसहित चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा उनले २० हजार १७ मत ल्याउँदै कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६४ मतान्तरले पराजित गरेका थिए। उक्त नतिजाले सर्लाही–४ मा उनको व्यक्तिगत प्रभाव र जनाधार कति बलियो छ भन्ने देखाएको थियो।


यसपटक पनि बहुप्रतिस्पर्धा देखिएको सर्लाही–४ मा कांग्रेसबाट गगनकुमार थापा, एमालेबाट अवनिशकुमार यादव, नेकपाबाट रजनिश राय, जसपाबाट रामेश्वरराय यादव र जनमत पार्टीबाट राकेश मिश्रलगायत उमेदवार मैदानमा छन्। अघिल्ला निर्वाचनहरूमा तेस्रो र चौथो स्थानका उमेदवारले समेत सातदेखि आठ हजारसम्म मत ल्याउने गरेका कारण मत विभाजन हुने सम्भावना उच्च छ। यस्तो अवस्थामा सिंहको व्यक्तिगत प्रभाव र संगठनात्मक रणनीति निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ।


पछिल्लो समय जनकपुरमा स्वतन्त्र नेता बालेन शाहले मैथिली भाषामा दिएको भाषण र “अब की बार बालेन सरकार” भन्ने नाराले मधेश क्षेत्रमा नयाँ राजनीतिक बहस सुरु भएको छ। मधेशबाट नयाँ नेतृत्व र परिवर्तनको माग बढिरहेको भन्दै रास्वपा तथा घण्टी चिह्नप्रति युवापुस्ताको आकर्षण बढेको चर्चा भइरहेको छ। केही विश्लेषकहरूका अनुसार मधेश क्षेत्रमा परिवर्तनको लहर देखिएसँगै यसको लाभ सर्लाही–४ मा सिंहलाई पुग्न सक्ने अनुमान गरिएको छ।


सर्लाही–४ को चुनावी इतिहास हेर्दा यहाँ दलभन्दा पनि व्यक्तित्व र स्थानीय पहुँचलाई मतदाताले प्राथमिकता दिने गरेको देखिन्छ। यही कारणले पनि बहुप्रतिस्पर्धाबीच डा. अमरेशकुमार सिंहको पल्ला भारी पर्न सक्ने अड्कलबाजी बढ्दै गएको छ। यद्यपि अन्तिम परिणाम भने मतदाताको निर्णयमै निर्भर रहनेछ।


प्रतिक्रिया