गार्ड अफ अनरदेखि विमानस्थलको तडकभडकसम्म : बालेनले तोड्दैछन् पुराना परम्परा

theoutsidenepal.com

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण आजदेखि, न्यूयोर्क प्रस्थान गर्दै

द टन न्युज । काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्रीको पहिलो विदेश यात्रासँगै यसअघिका केही परम्परागत अभ्याससमेत परिवर्तन हुने भएका छन्। विमानस्थलमा विगतमा जस्तो तामझामपूर्ण बिदाइ नगर्ने र मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूको ठूलो टोली विमानस्थलमा उपस्थित नहुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

देशको पछिल्लो परिस्थिति र राष्ट्रिय विपत्तिको अवस्थालाई समेत ध्यानमा राख्दै अनावश्यक औपचारिकता र तडकभडक नगर्ने प्रधानमन्त्रीको चाहना रहेको स्रोतको भनाइ छ।

यसअघि प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा विमानस्थलमा नेपाली सेनाबाट गार्ड अफ अनर दिने परम्परा रहँदै आएको थियो। प्रधानमन्त्री शाहको भ्रमणमा उक्त अभ्यासलाई निरन्तरता दिने वा नदिने विषयमा समेत अध्ययन भइरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गार्ड अफ अनर लिनैपर्ने कानुनी वा प्रोटोकलसम्बन्धी अनिवार्यता नरहेको अवस्थामा प्रधानमन्त्रीले त्यस्तो औपचारिकता नलिने सम्भावना छ।

यसपटक प्रधानमन्त्रीको भ्रमण टोली पनि विगतको तुलनामा निकै छरितो बनाइएको छ। प्रधानमन्त्री शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई सुरक्षाकर्मी र एक शिष्टाचार अधिकृत न्यूयोर्क जानेछन्।

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा रहेको टोली भने यसअघि नै अमेरिका पुगिसकेको छ। प्रधानमन्त्रीका स्वकीय सचिव प्रदीप परियार र सुवास शर्मा पनि न्यूयोर्कमा छन्।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री शाह शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ।


प्रतिक्रिया