रजनी थापा कांग्रेस केन्द्रीय सदस्यको दौडमा, जेसीज नेतृत्वदेखि अन्तर्राष्ट्रिय अनुभवसम्मको यात्रालाई राजनीतिक नेतृत्वमा जोड्ने तयारी

theoutsidenepal.com

रजनी थापा कांग्रेस केन्द्रीय सदस्यको दौडमा, जेसीज नेतृत्वदेखि अन्तर्राष्ट्रिय अनुभवसम्मको यात्रालाई राजनीतिक नेतृत्वमा जोड्ने तयारी

द टन न्युज ॥ विशेष रिपोर्ट

काठमाडौं । नेपाल जेसीजकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। युवा नेतृत्व, संगठन सञ्चालन, महिला सशक्तीकरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवलाई नेपाली कांग्रेसको राजनीतिक यात्रासँग जोड्ने उद्देश्यसहित थापा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएकी हुन्।

युवा नेतृत्व विकास र संगठन निर्माणमा लामो अनुभव बोकेकी थापाले सन् २०११ मा जेसीज अभियानमा प्रवेश गरेकी थिइन्। जेसीज यात्राका क्रममा उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष तथा वरिष्ठ कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै उनी सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष बनेकी थिइन्।

स्थानीय तहबाट सुरु भएको उनको नेतृत्व यात्रा क्रमशः राष्ट्रिय नेतृत्वसम्म पुगेको थियो। सन् २०२४ मा सम्पन्न नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा निर्वाचित भएपछि थापाले देशभरका युवा नेतृत्वसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर प्राप्त गरिन्।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका रूपमा उनले युवा परिचालन, नेतृत्व विकास, संगठन विस्तार तथा विभिन्न सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ। यही संगठनात्मक अनुभवलाई अब नेपाली कांग्रेसको राजनीतिक संगठन निर्माण र नेतृत्व विकासमा उपयोग गर्ने उनको लक्ष्य रहेको छ।

थापाको राजनीतिक यात्राको अर्को महत्वपूर्ण पक्ष उनको राष्ट्रियसँगै अन्तर्राष्ट्रिय नेतृत्व अनुभव हो। स्थानीय जेसीजको नेतृत्वदेखि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष र एसिया–प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय नेतृत्वसम्मको अनुभवले आफूलाई व्यापक दृष्टिकोणसहित राजनीतिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको थापाको धारणा छ।

कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएमा युवा सहभागिता बढाउने, पार्टी संगठनलाई आधुनिक र प्रभावकारी बनाउने, महिला नेतृत्वलाई थप प्रोत्साहन गर्ने तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवलाई नेपाली राजनीतिक बहससँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने उनको तयारी छ।

युवा पुस्तासँग प्रत्यक्ष रूपमा काम गरेको अनुभव, संगठन सञ्चालनको दक्षता र अन्तर्राष्ट्रिय सम्पर्क तथा नेतृत्वको अनुभवलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने थापाको प्रयासलाई कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

रजनी थापाको उम्मेदवारीसँगै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा, महिला र अन्तर्राष्ट्रिय अनुभवको प्रतिनिधित्वबारे बहससमेत थप बलियो बन्ने देखिएको छ।


प्रतिक्रिया