पोखरा । सुनचाँदीका गरगहना खरिद गर्ने ग्राहकको रोजाइमा पर्दै आएको गुरुङ गहना घरले आफ्नो पहिलो शाखा विस्तार गरेको छ । चार वर्षअघि स्थापना भएको गहना घरले बढ्दो ग्राहक चापलाई मध्यनजर गर्दै न्युरोडमै थप व्यवस्थित शाखा सञ्चालनमा ल्याएको हो ।
सोमबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मुख्य पसलबाट करिब ४–५ घर उत्तरतर्फ रहेको छ । शाखा विस्तारसँगै फराकिलो र व्यवस्थित स्थानबाट सेवा दिने लक्ष्य लिएको सञ्चालिका सीमा गुरुङ ले जानकारी दिइन् । उनका अनुसार साविक पसलबाट पनि गरगहना खरिद–बिक्री यथावत रहनेछ । ग्राहकको माया, सद्भाव र सुझावकै आधारमा व्यवसाय विस्तार गरिएको उनले बताइन् ।
त्यस्तै, प्रबन्ध निर्देशक नेल्सन गुरुङ ले ग्राहकको निरन्तर साथ र विश्वासकै कारण नयाँ शाखा खोल्न सम्भव भएको बताए । युवाहरूको विदेश पलायन बढिरहेको अवस्थामा स्वदेशमै केही गर्ने उद्देश्यसहित व्यवसाय अघि बढाउँदै आएको र अब शाखा विस्तारमार्फत सेवा थप विस्तार गरिएको उनले उल्लेख गरे ।
गुरुङ गहना घरले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । केही समयअघि वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । नयाँ शाखाको भुँइतलाबाट सुनका गरगहना तथा पहिलो तलाबाट चाँदीका गरगहना बिक्री गरिनेछ । संस्कार र संस्कृति अनुसारका विभिन्न डिजाइनका गरगहना उपलब्ध गराउँदै आएको गहना घरले सेवा सुविधामा सुधार गर्दै ग्राहकको विश्वास अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।