बेलबारी–४, मोरङ ।
तस्बिर हेर्दा साधारण देखिने तर भित्र गहिरो अर्थ बोकेको एउटा जीवनकथा अहिले हजारौँ युवाका लागि प्रेरणाको स्रोत बनेको छ। यो कथा हो— गरिबी, संघर्ष, करुणा र जिम्मेवार नेतृत्वलाई एउटै धारमा जोड्न सफल डा. ओमप्रकाश विश्वकर्माको।
डा. ओमप्रकाश विश्वकर्मा, बिनमतो गरेर जीवन चलाइरहेका विष्णुभक्त विश्वकर्माका जेठा छोरा हुन्। उनका बाल्यकालका दिनहरू सुन कुटेर गुजारा गर्ने बुबा, १० धुर जमिन र दैनिकी चलाउन कठिन अवस्थाबीच बिते। यस्ता परिस्थितिमा हुर्किएका ओमप्रकाशको सपना पनि धेरै गरिब परिवारका युवाजस्तै सानैमा टुट्ने जोखिममा थियो।
बेलबारीको सगरमाथा स्कुलमा कक्षा ७ सम्म उत्कृष्ट रूपमा अध्ययन गरेका उनी आर्थिक अभावकै कारण पढाइ निरन्तरता दिन नसक्ने अवस्थामा पुगे। परिवारको हातमुख जोर्ने कि पढाइ अघि बढाउने भन्ने दोधार उनको जीवनको सबैभन्दा कठिन मोड बन्यो। गाउँमा त्यतिबेला रोजगारीको सीमित विकल्प थियो— सामान्य काम गर्ने, नभए विदेश जाने।
यही मोडमा उनको जीवनले नयाँ दिशा लियो। ओमप्रकाशको अवस्था थाहा पाएपछि, त्यतिबेला न कुनै राजनीतिक पदमा रहेका न त निर्वाचित जनप्रतिनिधि नै रहेका डा. सुनीलकुमार शर्माले मानवीय संवेदनाका आधारमा ठूलो निर्णय गरे। उनले ओमप्रकाशलाई आफ्नै छोरासरह संरक्षण गर्दै कक्षा १२ सम्म पढाउने जिम्मा लिए। यो सहयोग केवल शैक्षिक थिएन, ओमप्रकाशको जीवन उठाउने भरोसाको जग थियो।
डा. सुनील शर्मा यहीँ रोकिएनन्। उनले ओमप्रकाशलाई डाक्टर बन्ने तयारीका लागि काठमाडौं पठाए। आज ओमप्रकाश विराट मेडिकल कलेजमा तेस्रो वर्ष एमबीबीएस अध्ययनरत छन्। अझ महत्वपूर्ण कुरा, डा. सुनील शर्माले उनलाई एमबीबीएस मात्र होइन, एमडी हुँदै डीएमसम्म पढाउने प्रतिबद्धता जनाएका छन्।
डा. सुनील शर्माको सेवा उपचारमा मात्र सीमित छैन। विराटनगर अस्पताल, पशुपालनदेखि कुकुरलाई खाना खुवाउनेसम्म फैलिएको उनको मानवीय सेवा भावनाले हजारौँको मन जितेको छ। उनले डाक्टर बनेपछि कम्तीमा पाँच सय जना बिरामीलाई निःशुल्क उपचार गर्ने वाचा समेत ओमप्रकाशसँग गराएका छन्।
विष्णुभक्त विश्वकर्माको एउटै चाहना छ— आफू जीवित छँदा छोरा डाक्टर बनेर गरिब–दुःखीको सेवा गरेको हेर्ने। “सुनील सरको सय वर्ष आयु होस्, बाँचेञ्जेल सबैलाई यसरी नै सेवा गर्ने अवसर मिलोस्,” भन्ने उनको कामना छ। उनका अनुसार, उनका छोराले पनि सुनील शर्माबाट प्रेरणा लिएर यही बाटो समाउनेछन्।
वास्तवमा ओमप्रकाश केवल एक व्यक्ति होइनन्, उनी आफू जन्मिएको समुदायको प्रतिनिधि पात्र हुन्। डा. सुनील शर्माको सहयोगमा अहिलेसम्म करिब १ हजार २० जना युवा अध्ययन गर्न सक्षम बनेका छन्। तीमध्ये कोही डाक्टर, कोही नर्स, कोही ल्याब टेक्निसियन त कोही अन्य पेशा–व्यवसायमा सफल भएका छन्।
यो कथा नेतृत्व चयनसँग पनि गहिरोसँग जोडिन्छ। किनकि निर्वाचन केवल मत हाल्ने प्रक्रिया मात्र होइन, शब्दभन्दा कर्ममा विश्वास गर्ने नेतृत्व छान्ने अवसर हो। डा. सुनील शर्माले गरिबको उपचार मात्र गरेका छैनन्, भविष्य निर्माण पनि गरेका छन्। त्यसैले विष्णुभक्त र उनको परिवारजस्तै हजारौँको एउटै आवाज छ— यसपटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मालाई भारी मतले विजयी गराउनुपर्छ।
गरिबीबाट उठेर समाज बदल्ने कथा सम्भव छ भन्ने ज्वलन्त उदाहरण हो— डा. ओमप्रकाश विश्वकर्माको जीवन यात्रा।