भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन, ७४ वर्षको उमेरमा ब्लड क्यान्सरसँगको लडाइँ हार
काठमाडौं । हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्रमा आफ्नो सशक्त अभिनयबाट परिचित भारतीय अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। विगत पाँच वर्षदेखि ब्लड क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उपचारपछि केही समय उनको स्वास्थ्यमा सुधार आएको थियो। तर केही महिनाअघि क्यान्सर पुनः बल्झिएपछि उनको अवस्था जटिल बन्दै गएको थियो। पछिल्ला केही महिनादेखि उनी अस्पतालमै उपचाररत थिए र हालैका दिनमा स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएको थियो। उनका व्यवसायिक व्यवस्थापक (बिजनेस म्यानेजर)ले पनि निधनको पुष्टि गरेका छन्। उनको अन्त्येष्टि बुधबार गरिने सम्भावना रहेको बताइएको छ।
भारतमा रहेकी नेपाली अभिनेत्री विपना थापाले पनि रावतको निधन भएको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छन्। उनले रावतसँग बिताएका चलचित्र यात्रालाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्।
तेलुगु, हिन्दी र तमिल चलचित्रका चर्चित अभिनेता रावतले नेपाली चलचित्र क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका थिए। उनले निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेका ‘आबाट आमा’, ‘आबाट आमा–२’ तथा ‘ह्रस्व दीर्घ’ चलचित्रमा अभिनय गरेका थिए। अभिनेत्री विपना थापासँगको उनको सहकार्य नेपाली दर्शकमाझ पनि निकै रुचाइएको थियो।
रावत टेलिभिजनको चर्चित धारावाहिक ‘महाभारत’मा अश्वत्थामाको भूमिकाबाट विशेष चर्चामा आएका थिए। त्यस्तै हिन्दी चलचित्र ‘सरफरोश’, ‘लगान’ र ‘गजिनी’ लगायतका सफल फिल्महरूमा उनले सशक्त खलपात्रको भूमिका निर्वाह गर्दै दर्शकको मन जितेका थिए। विशेषगरी खलनायकको भूमिकामा उनको प्रभावशाली अभिनयले भारतीय चलचित्र उद्योगमा छुट्टै पहिचान स्थापित गरेको थियो।
उनको निधनको खबर सार्वजनिक भएपछि भारतीय चलचित्र उद्योगका कलाकार, निर्माता, निर्देशक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। नेपाली र भारतीय चलचित्र क्षेत्रमा उनको योगदानको स्मरण गर्दै धेरैले उनको निधनलाई अपूरणीय क्षति भएको बताएका छन्।