स्याफ्रुका बाढीपीडितको पीडामा NRNA : अब्दुल बासिदले भने—‘उहाँहरू एक्लै हुनुहुन्न’

theoutsidenepal.com

स्याफ्रुका बाढीपीडितको पीडामा NRNA : अब्दुल बासिदले भने—‘उहाँहरू एक्लै हुनुहुन्न’

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) का सह–कोषाध्यक्ष अब्दुल बासिदले बाढी तथा पहिरोबाट प्रभावित रसुवाको माथिल्लो स्याफ्रु पुगेर पीडित परिवारहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै राहत सामग्री वितरण गरेका छन्।

NRNA को राहत अभियानअन्तर्गत टोलीसँगै माथिल्लो स्याफ्रु पुगेका बासिदले स्याफ्रुबेँसीबाट विस्थापित भई माथिल्लो स्याफ्रुमा आश्रय लिएर बसिरहेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा नजिकबाट अनुभूति गरेको बताएका छन्।

बाढी तथा पहिरोले घर, बस्ती र जीवनभरको मेहनत गुमाउन बाध्य भएका परिवारहरू सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेको अवस्थाले आफूलाई निकै भावुक बनाएको बासिदको भनाइ छ।

पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्दै उनले विपद्को समयमा मानवीय संवेदना र सहकार्य नै सबैभन्दा ठूलो शक्ति भएको बताए। आफूहरूले पुर्‍याएको राहतले पीडितहरूको सम्पूर्ण समस्या समाधान नगरे पनि कठिन घडीमा उनीहरू एक्लै छैनन् भन्ने भरोसा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ।

‘दुःखमा साथ र संकटमा सहयोग गर्नु हामी सबैको मानवीय जिम्मेवारी हो,’ बासिदले भनेका छन्, ‘पीडितहरूको आँसु पुछ्नु, हात समाउनु र निराशाबीच आशा जगाउनु नै अहिलेको आवश्यकता हो।’

बासिदले विपद्को यस कठिन घडीमा राहत तथा उद्धार अभियानमा निरन्तर खटिरहेका NRNA का सम्पूर्ण साथीहरू, स्वयंसेवक तथा सहयोगी मनहरूप्रति समेत हार्दिक सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

विदेशमा रहेर पनि मातृभूमिको दुःखमा निरन्तर जोडिँदै आएको NRNA ले बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई राहत, सहयोग र मानवीय साथ प्रदान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

माथिल्लो स्याफ्रुमा पुगेको NRNA टोलीको उपस्थितिले विपद्मा परेका परिवारहरूलाई राहत सामग्रीसँगै मनोबल र आशाको सन्देशसमेत दिएको छ।

‘दुःखमा साथ, संकटमा सहयोग—NRNA सधैँ नेपालीसँगै।’


प्रतिक्रिया