काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध परेको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ । तोकिएको समयपछि तथा ठोस प्रमाणबिनै दर्ता गर्न खोजिएको उजुरी हिजै फिर्ता गरिएको हो ।
निर्वाचन कार्यालय स्रोतका अनुसार आशिकासँग जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) रहेको दाबी गर्दै उजुरी दिन खोजिएको थियो । तर उजुरीकर्ताले त्यसको पुष्टि गर्ने कुनै प्रमाण पेश गर्न नसकेपछि उजुरी दर्ता नगरिएको हो ।
स्रोतका अनुसार आशिकासँग रहेको कार्ड ‘पीआर’ नभई ‘टिआर’ (टेम्पोरेरी रेजिडेन्सी) भएको पाइएको छ । उक्त टिआर पनि पहिले नै निष्क्रिय भइसकेको अवस्थामा रहेकोले उम्मेदवारीमा कुनै असर नपर्ने निष्कर्ष निकालिएको हो ।
आशिका लामो समय जर्मनीमा बसेर त्यहीँका नागरिकसँग विवाह गरेकी हुन् । उनीहरूका दुई सन्तान छन् । आशिकाले नेपालको नागरिकता र पासपोर्ट त्यागेकी छैनन् । जर्मनीको टिआर भिसाको प्रावधान अनुसार ६ महिनाभन्दा बढी समय देशबाहिर बसेमा उक्त अनुमति स्वतः निष्क्रिय हुने व्यवस्था छ ।
नेपाल आउँदा आशिका सामाजिक सेवामा सक्रिय रहँदै आएकी थिइन् । सरसफाइ अभियान, गरिब तथा विपन्नलाई सहयोग, साथै जेनजी आन्दोलनका घाइतेहरूलाई अस्पताल तथा घर–घरमा पुगेर सहयोग गरेपछि उनले व्यापक प्रशंसा पाएकी थिइन् ।
रास्वपाले उनलाई उनको जन्मस्थानसमेत रहेको धादिङ–२ बाट टिकट दिएको छ । यसअघि उनले काठमाडौं–९ बाट चुनाव लड्ने घोषणा गरेकी थिइन् । पार्टीसँगको छलफलपछि जेनजी घाइतेहरूसँग सम्बन्धित मागहरू सम्बोधन भएपछि उनी रास्वपाबाट उम्मेदवारी दिन सहमत भएकी हुन् ।
पछिल्लो पटक नेपाल आएको ९ महिनाभन्दा बढी भइसकेकाले उनको टिआर स्वतः खारेज भइसकेको निकट स्रोतले जनाएको छ । मनोनयन दर्ताअघि नै आशिकाले निर्वाचन आयोगमा आवश्यक कागजातसहित स्पष्टिकरण दिएकी थिइन् । आयोगका अधिकारीहरूले उनको टिआरले उम्मेदवारीमा कुनै समस्या नपर्ने आश्वासन दिएका थिए ।
आशिका अब नेपालमै बस्ने गरी जर्मनीबाट फर्किएकी हुन् । उनका दुई सन्तान दुई वर्षअघि नै नेपाल ल्याइसकिएको छ । उनका श्रीमान् भने हाल जर्मनीमै छन् । अब जर्मनी जानुपरेमा आशिकाले पुनः भिसा लिनुपर्नेछ ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको व्यक्तिले निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा उम्मेदवारी दिन अयोग्य हुने व्यवस्था छ । तर त्यस्तो अनुमति पत्र त्यागेको तीन महिना व्यतीत भएपछि भने उम्मेदवारीमा बाधा नपर्ने उल्लेख छ ।
यस विषयमा धादिङ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत एकराज अधिकारीले आशिका तामाङविरुद्ध कुनै पनि उजुरी दर्ता नभएको पुष्टि गरेका छन् ।