आर्थिक रूपान्तरणको जिम्मेवारी सम्हाल्न तयार छु : उपसभापतिका उम्मेदवार विनोद चौधरी

theoutsidenepal.com

द टन न्युज ॥ विशेष रिपोर्ट

आर्थिक रूपान्तरणको जिम्मेवारी सम्हाल्न तयार छु : उपसभापतिका उम्मेदवार विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार तथा उद्योगी–व्यवसायी विनोद चौधरीले अब नेपाली कांग्रेसले युवालाई नेतृत्वमा स्थापित गर्दै आर्थिक रूपान्तरणलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताएका छन्।


महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै चौधरीले देशले अहिले युवा नेतृत्व, स्पष्ट आर्थिक दृष्टिकोण र परिणाममुखी नीतिको खोजी गरिरहेको उल्लेख गरेका छन्। उनले आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेतृत्वलाई पार्टीको निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।


चौधरीले आफ्नो दोस्रो विशेष महाधिवेशनमा सहभागिता कसैप्रतिको वैरभावका कारण नभई Gen Z आन्दोलनले दिएको युगान्तकारी सन्देश, परिवर्तनको जनआकांक्षा र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धताका आधारमा भएको स्पष्ट पारेका छन्।


उनका अनुसार नेपाली कांग्रेसलाई जनअपेक्षाअनुसार रूपान्तरण गर्न पार्टीमा युवा नेतृत्व स्थापित गर्नु अपरिहार्य छ। उनले नेपालले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गरे पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको बताएका छन्।


चौधरीले कांग्रेस सभापति गगन थापासँग आर्थिक रूपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आर्थिक विकासलाई तीव्रता दिन राजनीतिक नेतृत्व र आर्थिक विज्ञबीच संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले २०४८ देखि २०५१ सालसम्म कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको आर्थिक सुधारलाई नेपालको अर्थतन्त्रका लागि ऐतिहासिक कदमका रूपमा स्मरण गरेका छन्। उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारले अर्थतन्त्रमा नयाँ सम्भावनाका ढोका खोले पनि त्यसलाई समयअनुकूल थप गहिरो र प्रभावकारी बनाउन नसक्दा नेपालले आर्थिक विकासमा अपेक्षित गति लिन नसकेको उनको निष्कर्ष छ।

त्यसबेला सरकारका तर्फबाट महेश आचार्य र डा. रामशरण महतले आर्थिक सुधारमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै चौधरीले आफूले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई संस्थागत गर्न भूमिका निर्वाह गरेको बताएका छन्।

बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्णशमशेर जबराले अघि सारेको आर्थिक विकासको जगलाई अझ समृद्ध बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

चौधरीले अब देशलाई आकर्षक नाराभन्दा नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व आवश्यक रहेको बताएका छन्। युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गरेर नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने उनले बताएका छन्।

उनले १५औँ महाधिवेशनमा आफ्नो उपसभापति पदको उम्मेदवारी केवल एउटा पद प्राप्तिका लागि नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा स्थापित गर्न, युवाका आकांक्षा सम्बोधन गर्न र कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै आधुनिक तथा जनमुखी पार्टी बनाउने अभियान भएको दाबी गरेका छन्।

“अब राजनीतिका लागि राजनीति गरेर देशमा रूपान्तरण गर्न सकिँदैन। यसका लागि आर्थिक समुन्नतिका स्पष्ट योजनामा काम गर्न आवश्यक छ। आर्थिक समुन्नतिको जिम्मेवारी सम्हाल्न म तयार छु।”

चौधरीले आफ्नो अभियानमा महाधिवेशन प्रतिनिधिहरूको अमूल्य साथ, सहयोग, सुझाव र मतको अपिल गर्दै विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गरेर आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राखी नेपाली कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया