काठमाडौं । आगामी आम निर्वाचन २०८२ नजिकिँदै जाँदा विदेशमा रहेका करिब एक करोड नेपालीको प्रतिनिधित्व गर्दै उत्तर अमेरिकाकै पुरानो र बृहत् बहुराष्ट्रिय सामाजिक संस्था ‘एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज’ (एएनए) ले नेपालका राजनीतिक दल तथा उम्मेदवारहरूलाई लक्षित गर्दै गम्भीर र शक्तिशाली अपील सार्वजनिक गरेको छ। एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले जारी गरेको विशेष विज्ञप्तिमार्फत प्रवासी नेपालीका अधिकार र सरोकारलाई दलहरूको घोषणापत्रमा स्पष्ट रूपमा समावेश गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा प्रवासी नेपालीको पहिचान, अधिकार र योगदानलाई सम्मान गर्दै ६ वटा मुख्य मागहरू अघि सारिएका छन्। एएनएले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्दै “एक पटकको नेपाली, सधैंको नेपाली” को अवधारणा कार्यान्वयन गर्नुपर्ने अडान राखेको छ। साथै, संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको यथाशीघ्र कार्यान्वयन गर्न ठोस पहल आवश्यक रहेको उल्लेख गरिएको छ।
विदेशमा बसेर पनि नेपालको अर्थतन्त्रलाई विप्रेषणमार्फत धानेका नेपालीलाई आफ्नै देशको नेतृत्व चयनमा सहभागी गराउन विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि विज्ञप्तिमा जोडदार रूपमा उठाइएको छ। त्यस्तै, प्रवासी नेपालीका पुर्ख्यौली सम्पत्तिको कानुनी सुरक्षा, लगानीमैत्री वातावरण निर्माण, एनआरएन परिचयपत्र वितरण तथा दूतावास सेवाहरू छिटो र प्रभावकारी बनाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
एएनएले संसारभर रहेका नेपाली भाषी समुदायलाई सम्मानजनक रूपमा सम्बोधन गर्दै नेपाली पहिचानसँग जोड्ने कानुनी तथा नीतिगत सहजता निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।
अध्यक्ष अधिकारीले राजनीतिक दलहरूलाई चेतावनीपूर्ण शैलीमा भनेका छन्— “हामीले भूगोल मात्र छोडेका हौं। नेपालको अर्थतन्त्र धान्ने एक करोड नेपालीलाई पैसा पठाउने मेसिनको रूपमा मात्र नहेरियोस्।” उनले प्रवासी नेपालीका मुद्दा अब भाषणमा मात्र सीमित नभई दलहरूको लिखित घोषणापत्रमै समावेश हुनुपर्ने स्पष्ट पारेका छन्।
विज्ञप्तिमा आगामी निर्वाचनका लागि दलहरूले तयार गर्ने वाचापत्रमा प्रवासी नेपालीका साझा एजेन्डालाई प्राथमिकता दिन अनुरोध गर्दै, जसले यी मुद्दालाई गम्भीरतापूर्वक समेट्छ उसैलाई मात्र प्रवासी नेपालीको साथ रहने उल्लेख गरिएको छ।
एएनए अध्यक्ष खगेन्द्र अधिकारीले वासिंटन डी.सी.बाट जारी गरेको उक्त अपीलले संसारभर रहेका नेपालीहरूलाई एकजुट भई आफ्नो अधिकारका लागि आवाज उठाउन प्रेरित गरेको बताइएको छ।