बाढीपछि झोलुङ्गे पुल पुनःनिर्माणमा तीव्रता, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न

theoutsidenepal.com

बाढीपछि झोलुङ्गे पुल पुनःनिर्माणमा तीव्रता, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न

द टन न्युज । नुवाकोट ।

रसुवा बाढीपछि क्षतिग्रस्त भएका नुवाकोट, रसुवा, धादिङ र गोरखाका झोलुङ्गे पुल तथा वैकल्पिक आवतजावतका संरचनाको पुनःनिर्माण तथा मर्मत कार्यले गति लिएको छ। बाढीबाट क्षतिग्रस्त बेलकोटगढी नगरपालिका–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट प्राविधिक व्यवस्थापन गरी पुलमा बटारिएका लठ्ठा सिध्याउने, Sag Setting, Hand Rail Cable परिवर्तन तथा नयाँ Steel Deck र Beam जडान गर्ने काम सम्पन्न गरिएको हो। जाली राख्ने काम पूरा भएपछि करिब दुई दिनभित्र पुलबाट नियमित आवतजावत सञ्चालनमा आउने जनाइएको छ।

चार स्थानमा तुइन सञ्चालनमा

बाढीपछि आवतजावत सहज बनाउन हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन सञ्चालनमा आएको छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड–६ र आमाछोदिङ्मो–१ जोड्ने हाकुबेंसीमा समेत तुइन सञ्चालनमा ल्याइएको छ।

यसैगरी थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। पैरेबेँसी–किस्पाङ जोड्ने स्थानमा विवादित स्थलका विषयमा सहमति जुटेको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरिया भएकाले स्थान परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ भने रसुवाको रुङ्गामा स्थल निरीक्षण (रेकी) भइरहेको छ।

१३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा

बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान मास्टर, केउरेनी–गहते, पिमलटार–जागाराम, चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल मर्मतको सूचीमा छन्।

त्यस्तै बाढीबाट क्षतिग्रस्त थप सात वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि सुरु भएको छ। आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको जनाइएको छ।

स्टिल पार्ट्स व्यवस्थापनमा प्रगति

झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्स व्यवस्थापनअन्तर्गत पहिलो चरणमा आवश्यक सामग्री खरिद सम्पन्न भएको छ। दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिदका लागि सम्झौता समेत भइसकेको छ।

पूर्ण क्षति भएका ३३ पुल पुनर्निर्माणको तयारी

बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माण गर्ने तयारी अघि बढाइएको छ। ती पुलको पुनर्निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको जनाइएको छ।

बाढीका कारण सडक तथा पुल संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रका नागरिकको दैनिक आवतजावत प्रभावित भएको अवस्थामा तुइन सञ्चालन, क्षतिग्रस्त पुलको मर्मत तथा पूर्ण रूपमा क्षति भएका पुलको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ।


प्रतिक्रिया