बैतडीमा भएको बस दुर्घटनाप्रति चतुर बहादुर चन्दद्वारा दुःख व्यक्त

theoutsidenepal.com

बैतडी । बैतडीमा हिजो विवाह कार्यक्रममा सहभागी हुन गइरहेको यात्रुबाहक बस दुर्घटनामा परि मानवीय क्षति भएको घटनाप्रति नेपाली कांग्रेसका बैतडीका उम्मेदवार चतुर बहादुर चन्दले गहिरो दुःख व्यक्त गरेका छन्।

उक्त दुःखद घटनामा ज्यान गुमाएका सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चन्दले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले खुसी र उल्लासको क्षण एकाएक पीडामा परिणत हुनु अत्यन्तै दुखद र मर्माहत बनाउने विषय भएको बताएका छन्।

चन्दले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै किसिमको लापरवाही नहोस् भनी सम्बन्धित सबै निकायलाई गम्भीर बन्न आग्रह गरेका छन्। घाइतेहरूको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन स्थानीय प्रशासन, स्वास्थ्य संस्था तथा सरोकारवाला पक्षहरूलाई समन्वयका साथ अघि बढ्नुपर्ने उनको धारणा छ।

“विवाह जस्तो पवित्र र खुशीको अवसरमा यस्तो दर्दनाक घटना हुनु सम्पूर्ण बैतडीवासीका लागि पीडादायी छ,” चन्दले भनेका छन्, “यो दुःखद घडीमा पीडित परिवारसँग म र नेपाली कांग्रेस दृढताका साथ साथमा छौँ।”

उनले यस्ता दुर्घटनाहरू बारम्बार दोहोरिन नदिन सडक सुरक्षाका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न, ग्रामीण तथा दुर्गम क्षेत्रमा चल्ने सवारी साधनहरूको प्राविधिक जाँचलाई अनिवार्य बनाउन र चालकको जिम्मेवारीप्रति थप सजगता अपनाउन आवश्यक रहेको उल्लेख गरेका छन्। राज्यले सडक सुरक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना ल्याउनुपर्नेमा पनि चन्दले जोड दिएका छन्।

मानवीय संवेदना र जिम्मेवार नेतृत्वको उदाहरण प्रस्तुत गर्दै चन्दले पीडित परिवारलाई आवश्यक परेमा व्यक्तिगत तथा राजनीतिक तवरबाट सक्दो सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया