काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउद ले पार्टीभित्र जारी आन्तरिक विवादलाई विधानको दायराभित्र रहेर वार्तामार्फत निष्कर्षमा पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले पार्टीको एकता मजबुत बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
नेता साउदका अनुसार नेपाली कांग्रेसको इतिहास संवाद, सहमति र लोकतान्त्रिक अभ्यासबाट अघि बढेको छ। अहिलेको परिस्थितिमा पनि भावनात्मक आवेग होइन, विधान र संस्थागत प्रक्रियाको सम्मान गर्दै समाधान खोजिनुपर्ने उनको भनाइ छ।
उनले जारी वार्ताहरूलाई निष्कर्षमा पुर्याउन नेतृत्व तहले दृढ इच्छाशक्ति देखाउनुपर्ने उल्लेख गर्दै, पार्टीभित्रको मतभेदलाई विभाजनमा परिणत हुन नदिन सबै नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार भूमिका खेल्न आग्रह गरे।
साउदले भने, “पार्टीलाई एकताबद्ध राख्नु आजको प्रमुख आवश्यकता हो। विधानको दायरालाई सम्मान गर्दै वार्तालाई निष्कर्षमा पुर्याइयो भने नेपाली कांग्रेस अझ सशक्त भएर अघि बढ्न सक्छ।”
उनको यो अभिव्यक्तिलाई पार्टीभित्र चलिरहेको आन्तरिक विवाद समाधानका लागि आएको एक सकारात्मक र सन्तुलित धारणा का रूपमा हेरिएको छ।