काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता, पूर्व मेयर तथा झापा–५ का प्रतिनिधि सभा उम्मेदवार बालेन शाहले खुवालुङलाई किराँती तथा सम्पूर्ण नेपालीका लागि पवित्र सांस्कृतिक–आध्यात्मिक स्थलको रूपमा उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत महत्त्वपूर्ण सन्देश सार्वजनिक गरेका छन्।
शाहले आफ्नो स्टाटसमा सप्तकोशी क्षेत्रमा अवस्थित खुवालुङलाई मुन्धुममा “सभ्यताको द्वार” मानिने स्थानका रूपमा व्याख्या गर्दै यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताएका छन्। मुन्धुम पाठ तथा जीवनचक्रसँग सम्बन्धित संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले खुवालुङलाई जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने उनले उल्लेख गरेका छन्।
उनले इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्ने खुवालुङ जस्ता सम्पदाको संरक्षण र सम्मान आवश्यक रहेको सन्देश दिएका छन्। शाहको यो धारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सांस्कृतिक पहिचान र सम्पदा संरक्षणबारे व्यापक बहस तथा सकारात्मक प्रतिक्रिया देखिन थालेको छ।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका भीजनरी युवा नेताका रूपमा चिनिएका शाहको उक्त अभिव्यक्तिलाई सांस्कृतिक पहिचानप्रति उनको प्रतिबद्धतासँग जोडेर हेरिएको छ।