निर्वाचन पारदर्शिता र विश्वसनीयतामा राष्ट्रिय पर्यवेक्षक संस्थाको भूमिका महत्त्वपूर्ण : आयुक्त डा. जानकी कुमारी तुलाधर

theoutsidenepal.com

निर्वाचन पारदर्शिता र विश्वसनीयतामा राष्ट्रिय पर्यवेक्षक संस्थाको भूमिका महत्त्वपूर्ण : आयुक्त डा. जानकी कुमारी तुलाधर


काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगकी माननीय आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन प्रणालीलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन पर्यवेक्षकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन्।


कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम भएको उल्लेख गरिन्। आम मतदाताको विश्वास कायम राख्न कानुनी व्यवस्था, आचारसंहिता र निर्वाचन प्रक्रियाको पूर्ण पालना आवश्यक रहेको भन्दै निष्पक्ष र वस्तुनिष्ठ पर्यवेक्षणले निर्वाचन व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।


आयुक्त तुलाधरले पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभावमा नपरी तटस्थ, व्यावसायिक र जिम्मेवार ढंगले कार्य गर्नुपर्नेमा जोड दिइन्। व्यक्तिगत धारणा वा अनुमानका आधारमा नभई तथ्यमा आधारित अवलोकन र प्रतिवेदन तयार गर्न उनले आग्रह गरिन्।


पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा अवरोध, हस्तक्षेप वा पक्षपातपूर्ण व्यवहार नगर्न निर्देशन दिँदै प्रचलित निर्वाचन कानुन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उनले स्पष्ट पारिन्। साथै, पर्यवेक्षणबाट प्राप्त सूचना वा निष्कर्ष सार्वजनिक गर्दा आयोगले तोकेको प्रक्रिया र समयसीमाको पालना गर्नुपर्ने र अपुष्ट तथा भ्रामक सूचना सार्वजनिक नगर्न सचेत गराइन्।


उनले निर्वाचन आयोगले पर्यवेक्षकहरूलाई लोकतन्त्र सुदृढीकरणका साझेदारको रूपमा हेरेको उल्लेख गर्दै पर्यवेक्षण पश्चात् प्राप्त सुझाव, सिफारिस र प्रतिवेदनले भविष्यमा निर्वाचन प्रणाली सुधार गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरिन्। अन्त्यमा उनले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्दै अभिमुखीकरण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन्।


प्रतिक्रिया