झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा पार्टीले अगाडि सारेका बालेन्द्र शाह (बालेन) यतिबेला झापा–५ को चुनावी मैदानमा सक्रिय देखिएका छन्। चुनावी अभियानका क्रममा सप्तकोशी नदीमा मोटरबोट चलाउँदै उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन्, जसले समर्थकहरूबीच नयाँ उत्साह थपेको छ।
रास्वपाले बालेनलाई देशको वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएको छ। युवापुस्तामा लोकप्रियता कमाएका बालेनको अभियानमा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति देखिन थालेको छ। सामाजिक सञ्जालदेखि जनसभासम्म उनको सक्रियता बढ्दै जाँदा झापा–५ को चुनावी माहोल तातेको छ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई अहिलेको नेपाली राजनीतिका प्रभावशाली तथा शक्तिशाली नेताका रूपमा हेरिएको छ। परम्परागत दलप्रति असन्तुष्टि बढिरहेका बेला नयाँ राजनीतिक शक्तिको रूपमा रास्वपाको प्रभाव विस्तार हुँदै गएको विश्लेषकहरू बताउँछन्।
देशभर “घण्टी” चिन्हप्रति आकर्षण बढ्दै गएको र आगामी निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्ने सम्भावना रहेको पार्टी कार्यकर्ताहरूको दाबी छ। झापा–५ मा बालेनको सक्रिय अभियानसँगै चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ।