नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्ण तिमिल्सिनाको दमदार उम्मेदवारी
युरोप क्षेत्रबाट केन्द्रीय सदस्यमा तिमिल्सिनाको उम्मेदवारी, संगठन सुदृढीकरण र प्रवासी नेपालीको आवाजलाई प्राथमिकता दिने प्रतिबद्धता
द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युरोप क्षेत्रबाट पूर्ण तिमिल्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। बेल्जियममा नेपाली कांग्रेसको जनसम्पर्क समितिको पूर्वसभापति तथा पोखराका पूर्व विद्यार्थी नेता समेत रहेका तिमिल्सिनाले प्रवासमा नेपाली कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवासी नेपालीका मुद्दालाई पार्टीको मूलधारमा स्थापित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका हुन्।
लामो समयदेखि प्रवासमा रहेर नेपाली कांग्रेसको संगठन र सामाजिक अभियानमा सक्रिय तिमिल्सिनाको उम्मेदवारीलाई युरोपमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूमाझ अर्थपूर्ण रूपमा हेरिएको छ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई राजनीतिक आधार बनाउँदै तिमिल्सिनाले पार्टीलाई समयअनुकूल, जनमुखी र प्रवासी नेपालीसँग अझ मजबुत रूपमा जोड्ने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
युरोपमा रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै आएका तिमिल्सिनाले विदेशमा रहेका नेपालीको समस्या, अधिकार, लगानी, नागरिकता तथा मातृभूमिसँगको सम्बन्धलाई नेपाली कांग्रेसको नीतिगत प्राथमिकतामा अझ बलियो बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट बलियो प्रतिनिधित्व र नयाँ ऊर्जाको खोजी भइरहेका बेला पूर्ण तिमिल्सिनाको उम्मेदवारीले प्रवासी कांग्रेस राजनीतिमा थप तरंग सिर्जना गरेको छ। संगठनप्रतिको निरन्तर सक्रियता, प्रवासी नेपालीसँगको सम्बन्ध र राजनीतिक अनुभवलाई आधार बनाउँदै तिमिल्सिना आफूलाई प्रभावकारी केन्द्रीय सदस्यका रूपमा स्थापित गर्ने अभियानमा अघि बढेका छन्।
“प्रवासमा बस्ने नेपालीको आवाज कांग्रेसको निर्णय प्रक्रियामा अझ बलियो हुनुपर्छ” भन्ने भावनाका साथ तिमिल्सिनाले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, समर्थन र अमूल्य मतका लागि अपिल गरेका छन्।