रोबिन शेरचन एनआरएनए अध्यक्षमा उम्मेदवार

theoutsidenepal.com

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले संघको आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन्।

जापानमा लामो समयदेखि क्रियाशील शेरचनले एनआरएनएमा एकतालाई सुदृढ गर्ने र सबै गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने संस्था निर्माण गर्ने मुख्य एजेन्डासहित नेतृत्वको दावेदारी प्रस्तुत गर्ने योजना बनाएका छन्।


शेरचनले फेब्रुअरी १, २०२६ मा जापानको टोकियोस्थित ‘बातुर टोकियो’मा विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। कार्यक्रममा भौतिक उपस्थितिका साथै विश्वभरका गैरआवासीय नेपालीहरूले जुममार्फत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।


विगत १५ वर्षदेखि संघमा क्रियाशील शेरचनले **‘एक मन–एक संगठन’**को भावना अनुरूप संघलाई अघि बढाउने संकल्प लिएका छन्। उनले आगामी महाधिवेशनका लागि विभिन्न प्रतिबद्धताहरू अघि सार्ने जनाएका छन्, जसमा दरिलो एकता, समानता, नागरिकता र मताधिकारको सुनिश्चितता, मर्यादित वैदेशिक रोजगार, साना-ठुला लगानीको प्रोत्साहन, संस्थागत पुनर्संरचना, पारदर्शिता र जवाफदेहिता जस्ता विषयहरू प्रमुख रहेका छन्।


शेरचनले संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, सर्वोच्च अदालतको आदेश बमोजिम प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुका साथै भूतपूर्व गोर्खाहरूको अधिकारका लागि पनि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


आगामी मार्च १३, १४ र १५, २०८२ (फागुन २९, ३० र चैत १) मा काठमाडौँमा हुने १२औँ महाधिवेशन नजिकिँदै गर्दा शेरचनले आफू कम बोल्ने तर कामको नतिजा देखाउने स्वभावको भएको बताउँदै संस्थाको कठिन घडीमा नेतृत्व लिन तयार रहेको बताएका छन्।


उनी आफ्ना भावी योजना र साझा अवधारणामा सुझाव दिन अग्रज अभियन्ता, संस्थापक र सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई घोषणा सभामा निमन्त्रणा गरेका छन्।


प्रतिक्रिया