एनआरएनए आईसीसी अध्यक्ष पदमा रोविन शेरचनको उम्मेदवारी घोषणा

theoutsidenepal.com

प्रत्यक्ष भौतिक उपस्थितिमै निर्वाचन हुनुपर्नेमा जोड



गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी १३औँ विश्व सम्मेलन तथा एकताको महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचनले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।


जापानको टोकियोस्थित बातुर टोकियो (काबुकिचो) मा सन् २०२६ फेब्रुअरी १ तारिख (आइतबार) आयोजना हुने घोषणा कार्यक्रममा शेरचनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन्। कार्यक्रम साँझ ७ बजेदेखि राति १० बजेसम्म (जापानी समयअनुसार) सञ्चालन हुनेछ।

कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि अनलाइन (Zoom) माध्यमबाट पनि सहभागिता को व्यवस्था गरिएको छ।


एनआरएनएमा एकता, संस्थागत सुधार र विश्वास पुनःस्थापनाको संकल्प


उम्मेदवारी घोषणासँगै रोविन शेरचनले पछिल्लो समय एनआरएनए आईसीसी भित्र देखिएको गुटबन्दी, विवाद, अदालत केन्द्रित राजनीति र संस्थागत अस्थिरता अन्त्य गर्दै संघलाई पुनः एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनले एनआरएनएलाई पद र पहुँचको माध्यम होइन, संसारभर छरिएका नेपालीहरूको साझा संस्था को रूपमा मजबुत बनाउने, पारदर्शी नेतृत्व, उत्तरदायी निर्णय प्रक्रिया र दीर्घकालीन संस्थागत सुधार आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्।



अध्यक्ष चुनाव नेपालमै, प्रत्यक्ष भौतिक उपस्थितिमा हुनुपर्नेमा जोड



शेरचनले एनआरएनए आईसीसीको अध्यक्षसहित सम्पूर्ण नेतृत्व प्रत्यक्ष नेपाल गएर, भौतिक उपस्थितिमै प्रतिनिधिहरूले छनोट गर्नुपर्ने स्पष्ट धारणा राखेका छन्।


उनका अनुसार,


“भौतिक उपस्थितिमा हुने निर्वाचन नै सबैभन्दा आधिकारिक, पारदर्शी र विवादरहित हुन्छ। अनलाइन र प्रतिनिधि विवादले संघलाई कमजोर बनाएको छ, अब यसलाई अन्त्य गर्नुपर्छ।”


एनआरएन अभियन्ताहरू, पूर्व पदाधिकारी तथा प्रतिनिधिहरूको पनि प्रत्यक्ष निर्वाचन नै संस्थागत विश्वास पुनःस्थापनाको आधार हुने साझा मान्यता रहँदै आएको छ।


को हुन् रोविन शेरचन ?


रोविन प्रसाद शेरचन एनआरएन अभियानका अनुभवी, भरोसायोग्य र संस्थागत सोच भएका नेता का रूपमा परिचित छन्।


  • एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष
  • लामो समयदेखि जापानमा व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय
  • एनआरएनए एनसीसी जापान हुँदै आईसीसीसम्म आइपुग्दा संस्थागत अनुभव, नीति निर्माण र समन्वय क्षमतामा अब्बल
  • प्रवासी नेपालीका अधिकार, पहिचान, निरन्तर नागरिकता र नेपाल–डायस्पोरा सम्बन्ध मजबुत बनाउने अभियन्ता



शेरचनलाई मध्यमार्गी, सबै पक्षसँग संवाद गर्न सक्ने र विवाद समाधानमा विश्वास राख्ने नेता का रूपमा हेर्ने गरिन्छ।


एनआरएनएलाई नयाँ दिशामा लैजाने दाबी



उम्मेदवारी घोषणासँगै रोविन शेरचनले आगामी कार्यकालमा:


  • एनआरएनएलाई एकीकृत, विश्वसनीय र प्रभावकारी संस्था बनाउने
  • प्रवासी नेपालीका मुद्दालाई नेपाल सरकारसँग संस्थागत रूपमा उठाउने
  • एनआरएनएभित्रको अदालत–केन्द्रित राजनीति अन्त्य गर्ने
  • भावनात्मक होइन, संस्थागत र नीतिगत नेतृत्व प्रदान गर्ने



दाबी गरेका छन्।


एनआरएनए आईसीसी अध्यक्ष पदमा रोविन शेरचनको उम्मेदवारी घोषणाले विश्वभरका गैरआवासीय नेपाली माझ नयाँ बहस, आशा र चासो सिर्जना गरेको छ।


प्रतिक्रिया