जन्मदिनलाई सेवाको महाअभियानमा बदल्दै माता अमृतानन्दमयी : नेपालका बाढीपीडितका लागि २ करोड भारतीय रुपैयाँ सहयोग

theoutsidenepal.com

द टन न्युज ॥ विशेष रिपोर्ट

जन्मदिनलाई सेवाको महाअभियानमा बदल्दै माता अमृतानन्दमयी : नेपालका बाढीपीडितका लागि २ करोड भारतीय रुपैयाँ सहयोग

धनगढी । भारतकी प्रख्यात आध्यात्मिक तथा मानवीय सेवाकर्मी माता अमृतानन्दमयी देवीले आफ्नो जन्मदिन तथा विश्व सेवा दिवसको पावन अवसरलाई मानवीय सेवासँग जोड्दै नेपालका बाढी तथा पहिरोपीडितका लागि २ करोड भारतीय रुपैयाँ सहयोग प्रदान गरेकी छन्।

नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि प्रदान गरिएको उक्त रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको हो।


विपद्को पीडामा रहेका नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै माता अमृतानन्दमयीले आफ्नो जन्मदिनलाई नै मानवीय सेवा, करुणा र सहयोगको अभियानमा रूपान्तरण गरेकी हुन्। नेपालका बाढीपीडितका लागि गरिएको यो सहयोगले विपद्को समयमा सीमाना पारिको मानवीय सहकार्य र नेपाल–भारतबीचको मानवीय सम्बन्धलाई समेत थप उजागर गरेको छ।

सेवालाई जीवनको मूल मन्त्र बनाउँदै

माता अमृतानन्दमयी देवीको प्रेरणामा भारतमा अमृता अस्पताल सञ्चालन हुँदै आएको छ। अस्पतालले नेपालसहित विभिन्न मुलुकबाट उपचारका लागि पुग्ने बिरामीलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय बिरामी सेवा सञ्चालन गरिरहेको छ।

अमृता अस्पतालका सिनियर म्यानेजर तथा इन्टरनेसनल सेल्स एन्ड मार्केटिङ विभागका अभिषेक स्वाँरका अनुसार नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

उनका अनुसार अमृता अस्पतालले नेपाललगायत विभिन्न देशबाट उपचारका लागि आउने बिरामीका लागि इन्टरनेसनल पेसेन्ट केयरमार्फत विशेष सेवा उपलब्ध गराउँदै आएको छ। नेपाली बिरामीलाई उपचारका क्रममा भाषाको कठिनाइ नहोस् भन्ने उद्देश्यले दोभाषे, परामर्श तथा आवश्यक समन्वयका सेवासमेत उपलब्ध गराइँदै आएको उनले बताए।

विपद्मा नेपाल, सेवामा विश्व

प्राकृतिक विपद्ले ठूलो क्षति पुर्‍याएको अवस्थामा उपलब्ध गराइएको यो सहयोगले राहत तथा पुनर्स्थापनाका प्रयासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई समेत पीडित मानव समुदायको सेवामा समर्पित गर्ने माता अमृतानन्दमयीको कदमले ‘मानव सेवा नै सर्वोच्च सेवा’ भन्ने सन्देशलाई थप बलियो बनाएको छ।

नेपालका बाढीपीडितका लागि २ करोड भारतीय रुपैयाँको सहयोग केवल आर्थिक सहायता मात्र नभई विपद्को घडीमा पीडित नेपालीप्रति देखाइएको मानवीय सद्भाव, करुणा र ऐक्यबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।


प्रतिक्रिया