प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कतर्फ प्रस्थान

theoutsidenepal.com

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कतर्फ प्रस्थान

द टन न्युज । काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।


प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ। उहाँ असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ।

न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नेछन्।


न्यूयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमण तथा महासभासँग सम्बन्धित विषयमा उहाँलाई ब्रिफिङ गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुनुहुनेछ।


असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ। भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय बहसमा नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।

प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्यूयोर्कबाट दोहा प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री शाहको यो भ्रमण नेपालको तर्फबाट संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय मञ्चमा राष्ट्रिय प्राथमिकता, जलवायु न्याय, हिमाल संरक्षण तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा नेपालको धारणा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ।


प्रतिक्रिया