युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवबाट एभरेस्ट मल्टी स्किलको उद्घाटन हुँदै

theoutsidenepal.com

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवबाट एभरेस्ट मल्टी स्किलको उद्घाटन हुँदै

द टन न्युज । काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित स्थापना गरिएको एभरेस्ट मल्टी स्किल प्रा. लि. को उद्घाटन युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गर्ने भएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा स्थापना गरिएको संस्थाको भवन तथा संरचना निर्माण सम्पन्न भएसँगै आगामी असोज २५ गते आइतबार बिहान १० बजे उद्घाटन समारोह आयोजना गर्न लागिएको हो।


संस्थाका अध्यक्ष खगेन्द्र न्यौपानेका अनुसार उद्घाटन समारोहमा मन्त्री यादवको प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रममा संस्थाको उद्देश्य, प्रदान गरिने सेवा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी कार्यक्रम र भावी योजनाबारे जानकारी गराइनेछ।

सीप विकासमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य

प्राविधिक शिक्षा तथा सीप विकासमार्फत दक्ष जनशक्ति उत्पादन गर्नुका साथै युवालाई सीप र रोजगारीका अवसरसँग जोड्ने लक्ष्य एभरेस्ट मल्टी स्किलले लिएको छ। व्यावसायिक तालिममार्फत युवाको क्षमता अभिवृद्धि गर्दै रोजगारीका सम्भावना विस्तार गर्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ।

शिक्षा, समाजसेवा, सुरक्षा तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको उद्घाटन समारोहमा सञ्चारकर्मी, सरोकारवाला तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको छ।

एभरेस्ट मल्टी स्किल प्रा. लि. का अध्यक्ष खगेन्द्र न्यौपाने एनआरएनए आईसीसीका उपाध्यक्षसमेत हुन्। उनको नेतृत्वमा स्थापना भएको यस संस्थाले सीप, रोजगार र उज्ज्वल भविष्य निर्माणको लक्ष्य अघि सारेको छ।

कार्यक्रम विवरण

  • मिति: २०८३ साल असोज २५ गते, आइतबार
  • समय: बिहान १० बजे
  • स्थान: एभरेस्ट मल्टी स्किल प्रा. लि., सूर्यविनायक नगरपालिका–४, दधिकोट, भक्तपुर

प्रतिक्रिया