काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुरलगायत ५३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।
मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएकोमा बुधबार थप ६ जिल्लाको मतपत्र छपाइ पूरा भएको हो। ती जिल्लाका मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ तथा रुजु पूरा गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ भने माघ १६ गतेदेखि सो प्रणालीअन्तर्गतको मतपत्र छपाइ जारी रहेको छ।