७५३ पालिकामै ‘घण्टी’ चिन्ह पुर्याउनुपर्ने आङ् डी शेर्पाको धारणा
काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट
अमेरिकामा बस्दै आएका रास्वपाका युवा नेता तथा समाजसेवी आङ् डी शेर्पाले एक वर्षभित्र सुशासन कायम गर्दै पुरानो प्रणालीमा सुधार गरी नयाँ प्रणाली लागू गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
शेर्पाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देशमा विकास अघि बढाउन पुरानो प्रणालीका कमजोरी हटाएर नयाँ र प्रभावकारी प्रणाली स्थापित गर्नुपर्ने बताएका हुन्।
उनले भ्रष्टाचारमार्फत देशलाई कमजोर बनाउनेहरूमाथि कानुनी कारबाही हुनुपर्ने धारणा पनि राखेका छन्। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरी दोष प्रमाणित भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।
शेर्पाले आगामी राजनीतिक यात्रामा देशका ७५३ वटै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ चुनाव चिन्हको उपस्थिति विस्तार गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन्।
उनको स्टाटसमा रास्वपा सरकारलाई काम गर्न सहज हुने गरी स्थानीय तहसम्म संगठन र जनसमर्थन विस्तार गर्नुपर्ने आशय व्यक्त गरिएको छ।
रास्वपाको आधिकारिक विवरणअनुसार पार्टीको चुनाव चिन्ह ‘घण्टी’ हो र पार्टीले सुशासन तथा राजनीतिक सुधारलाई आफ्ना प्रतिबद्धतामा समेटेको छ।
आङ् डी शेर्पाको भनाइ:
“एक वर्षभित्र सुशासन कायम गर्नुपर्छ। रास्वपा सरकारले पुरानो सिस्टम सबै फालेर नयाँ सिस्टम लागू गर्नुपर्छ। त्यसपछि देशको विकास सुरु हुन्छ। विभिन्न किसिमले भ्रष्टाचार गरेर देशलाई डुबाउनेहरू सबैलाई जेल हाल्नुपर्छ अनि बन्छ देश। ७५३ पालिकामै घण्टी चिन्ह पुर्याउनुस्, रास्वपा सरकारलाई काम गर्न सजिलो हुनेछ।”