पुराना दलप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ विकल्प रोज्न थर्क शेनको आह्वान

theoutsidenepal.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा एनआरएनए अभियन्ता थर्क शेनले सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक दल र नीतिप्रति असन्तुष्टि जनाउँदै आगामी चुनावमा नयाँ र सक्षम विकल्प रोज्न आह्वान गरेका छन्। उनले शिक्षक–शिष्य, नेता–नीति र नीति–थितिको सम्बन्ध उल्लेख गर्दै प्रणाली परिवर्तनका लागि मतदाताले नयाँ सोच अपनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।


शेनले लामो समयदेखि पुराना दलको नेतृत्व र सरकारबाट अपेक्षित उपलब्धि नआएको आरोप लगाउँदै कर तिर्ने र रेमिटेन्स पठाउने जनताको योगदानको तुलनामा उपलब्धि “शून्यजस्तै” रहेको टिप्पणी गरेका छन्। उनले समस्याको समाधान सम्भव भए पनि नेपालमा उही समस्या दोहोरिरहनु राजनीतिक संस्कार र नीति–नियमकै परिणाम भएको बताएका छन्।


उनले रास्वपालाई नयाँ र सकारात्मक विकल्पका रूपमा प्रस्तुत गर्दै पुराना दललाई बारम्बार सुधार्ने प्रयासभन्दा नयाँ र सक्षम पार्टीलाई मौका दिनुपर्ने सुझाव दिएका छन्। साथै, विश्वभर रहेका करिब ८० लाख एनआरएनए नेपालीले मतदान अधिकारबाट वञ्चित हुनुपरेको विषय उठाउँदै नेपालमा एनआरएनएको “नोट चल्ने तर भोट नचल्ने” अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।


शेनले समयमै सचेत भई आफ्नो भविष्य आफ्नै हातमा लिन र सम्भावित समस्यालाई समयमै रोकथाम गर्न मतदातालाई आग्रह गर्दै सबैको कल्याणको कामना गरेका छन्।


प्रतिक्रिया