काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिसकेको बताएका छन्। सभापति शेरबहादुर देउवा समूहको केन्द्रीय समितिको बैठकले थापासहित महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेलगत्तै थापाले कांग्रेसको आधिकारिक धार विशेष महाधिवेशन पक्षमै रहेको दाबी गरेका हुन्।
थापाका अनुसार पार्टीभित्र लामो समयदेखि विधिसम्मत ढंगले नेतृत्व चयन गर्नुपर्ने माग उठ्दै आएको थियो। “हामीले सभापतिले जिम्मेवारी छोडेर कार्यवाहक दिएर जानु उपयुक्त हुन्छ भनेका हौँ। असोज २८ गतेको केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक तोक्दै जानु नै सम्मानजनक प्रक्रिया थियो,” उनले भने।
अब पार्टीभित्र अन्योलको अवस्था नरहेको उल्लेख गर्दै थापाले विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए। “विशेष महाधिवेशनको मनोनयनको काम सकिएको छ। उम्मेदवारको नामावली सार्वजनिक हुँदैछ। संवादका लागि प्रयास गर्यौँ, तर सफल हुन सकेन,” उनले बताए।
नेपाली कांग्रेसको आधिकारिकता कसको भन्ने प्रश्नमा थापाले स्पष्ट शब्दमा भने, “यहाँ विधिवत् र विधानसम्मत रूपमा नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो।”
थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको विवरण आजै निर्वाचन आयोगमा बुझाइने जानकारी पनि दिए। “आज निर्वाचन प्रक्रिया सकिएसँगै निर्वाचन आयोगलाई जानकारी गराउँछौँ,” उनले भने, “पार्टीको चुनाव चिह्न रुख, चारतारे झण्डा हामीसँगै छ। अर्को कुरा, कांग्रेस नै हामी हौँ।”
विशेष महाधिवेशनको प्रक्रियाले नेपाली कांग्रेसको आन्तरिक विवादलाई नयाँ मोड दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।