काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने र अपमानित गर्ने व्यवहार गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा गरिएको चेकिङ र व्यवहार ‘माथिबाट आदेश आएको’ भन्दै गरिएको गुनासो गरे। यस प्रकारको व्यवहारले आफू सभ्य समाजमा नभएको जस्तो अनुभूति भएको उनको भनाइ थियो।
‘अस्ती झापा जाँदा राम्रै व्यवहार गरिएको थियो। हिजो फर्किँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर हैरान पारियो,’ उनले भने, ‘किन यस्तो गरियो भनेर सोध्दा माथिबाट आदेश आएको छ भनियो। यसले सरकारको दृष्टिकोण के हो भन्ने प्रश्न उठ्छ।’
अध्यक्ष ओलीले यस किसिमको व्यवहारलाई अराजनीतिक र असभ्य सरकारको उदाहरण भएको उल्लेख गर्दै सरकारमा बेथिति, अन्याय र गलत प्रवृत्ति मौलाइरहेको आरोप लगाए।
‘हामी व्यक्तिगत सम्मानका लागि होइन, देश र जनताको सम्मानका लागि लडिरहेका छौँ,’ उनले भने।
उनले नेताहरूमाथि नै अपमानजनक व्यवहार हुनु सरकार जिम्मेवार नभएको संकेत भएको बताउँदै यस्तो प्रवृत्तिको अन्त्य गर्न सभ्य र सुसंस्कृत समाजतर्फ फर्कनुपर्ने धारणा राखे। त्यसका लागि आगामी निर्वाचन निर्णायक हुने उनको भनाइ थियो।
अध्यक्ष ओलीले देशलाई पुनः सही दिशामा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नरहेको पनि दाबी गरे।