नेपाली कांग्रेस बैतडीद्वारा १५औँ महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद
द टन न्युज । बैतडी । १० असोज
नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिले पार्टीको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न विभिन्न तहका निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ।
जिल्ला कार्यसमिति बैतडीका सभापति चतुरबहादुर चन्दले एक धन्यवाद विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि असोज ९ गतेसम्म सम्पन्न वडा, पालिका तथा प्रदेशसभा ‘क’ र ‘ख’ कार्यसमितिको निर्वाचन, प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग, सहभागिता र समन्वय गर्ने सबैप्रति आभार व्यक्त गरेका हुन्।
सभापति चन्दले निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, नेता, निर्वाचन अधिकृत, सुरक्षा निकायका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मी पत्रकारहरूलाई विशेष धन्यवाद दिएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, “यहाँहरूको अमूल्य सहयोग, सक्रिय सहभागिता र जिम्मेवार भूमिकाले अधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुगेको छ।”
सभापति चन्दले आगामी दिनमा पनि पार्टीको लोकतान्त्रिक अभ्यास, संगठन सुदृढीकरण तथा एकताका लागि सबैको सहयोग र सहभागिता निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।