काठमाडौं — सामाजिक अभियन्ता तथा लेखिका सरिता तिवारीले चितवनकी नेतृ मीना खरेलप्रति समर्थन जनाउँदै विवेक, विचार र सम्भावनाका आधारमा निर्णय गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले पार्टीको लोगो वा ट्यागभन्दा व्यक्ति र उनको मूल प्रवृत्ति हेर्नु जरुरी रहेको बताएकी छन्।
तिवारीले लेखेकी छन्, “यी पात्र सही छन्, यिनलाई निर्वाचित गरौं भन्दा कांग्रेस बनेको ठहर हुन्छ भने मलाई ‘कांग्रेसी’ भनिन कुनै आपत्ति छैन” भन्दै आफूलाई के भनिन्छ भन्नेभन्दा सही पात्रलाई समर्थन गर्नु महत्त्वपूर्ण भएको स्पष्ट पारेकी छन्। तर चितवनकै बुद्धिजीवी र लेखक वृत्तका स्वयं कांग्रेसीहरू नै मीना खरेल सही हुन् भनेर खुलेर समर्थन गर्न हिच्किचाइरहेकोप्रति उनले प्रश्न उठाएकी छन्।
उनले कांग्रेसको नाममा सुविधा लिने, नियुक्ति खाने र स्पेस ओगट्ने तर आलोचनात्मक विमर्शमा अग्रसर बामपन्थी पृष्ठभूमिका व्यक्तिहरूलाई शत्रुताको नजरले हेर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छन्। “मीना खरेल वा गगन–विश्वप्रकाशजस्ता व्यक्तिलाई यो पार्टी किन सदाशय राख्न सक्दैन?” भन्ने प्रश्न उनको स्टाटसको मूल भाव हो।
तिवारीका अनुसार समर्थन व्यक्तित्वको मूल प्रवृत्ति, सम्भावना (potential) र विचार/चिन्तन हेरेर गरिनुपर्छ, व्यक्तिगत लाभ–हानिको आशामा होइन। आफू राजनीतिक रूपमा विशेष पहुँच (privilege) भएको परिवारबाट भए पनि कहिल्यै लाभ लिने बाटो नअपनाएको उनले उल्लेख गरेकी छन्।
पुनश्चमा उनले मीना खरेलसँग कुनै निजी लाभको अपेक्षा नराखी समुदाय, समाज, भुइँका मुद्दा, पर्यावरणीय न्याय, हिंसा र विभेदविरुद्ध विधायकी रूपमा ईमानदार हस्तक्षेप गर्ने सम्भावनाका कारण समर्थन गरेको स्पष्ट पारेकी छन्।
“यो विवेकको परीक्षा हो। यस्तो परीक्षामा म कम्युनिस्ट, कांग्रेस वा कुनै पनि लोगो/छाप हेर्दिनँ,” भन्दै उनले सबैलाई पनि यही आग्रह गरेकी छन्।