८ हजार मिटरका सबै हिमाल आरोहण गरेका मिङमा शेर्पा चुनावी मैदानमा : “संखुवासभाको आवाज अब संसदसम्म”
संखुवासभा — विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेर अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाएका पर्वतारोही तथा समाजसेवी मिङमा शेर्पा यतिबेला संखुवासभाबाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्हसहित उम्मेदवारी दिएका शेर्पाले छोटो समय बाँकी रहेको फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै तीव्र जनसम्पर्क अभियान सुरु गरेका छन्।
आफ्नो जन्मथलो संखुवासभामा वर्षौँदेखि सामाजिक सेवामा सक्रिय रहेका शेर्पाले अब जिल्लाको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्। “संखुवासभालाई नयाँ सोच, नयाँ विचार र नयाँ लक्ष्यसहित अघि बढाउन आवश्यक छ, यही समयको माग पनि हो,” उनले जनतामाझ राखेको सन्देशमा उल्लेख गरेका छन्।
हिमाल, पहाड र उपत्यकाको सुन्दर संगमका रूपमा चिनिने संखुवासभामा विद्युत, पर्यटन, कृषि, जैविक विविधता तथा मकालु क्षेत्रको विकास–विस्तारलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। विगतका कामहरूको समीक्षा गर्दै अब जिल्लाको समग्र विकासलाई तीव्र गति दिन आफू तयार रहेको उनको भनाइ छ।
जिल्लाका ओझेलमा परेका समस्या समाधान गर्दै संखुवासभाको आवाज संसदसम्म पुर्याउने अठोट व्यक्त गरेका शेर्पाले मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्। “तपाईंहरूको साथले संखुवासभाको मुहार फेर्न सक्छौं,” उनले भनेका छन्।
फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा मिङमा शेर्पाको उम्मेदवारीले जिल्लामा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरेको स्थानीयहरूको भनाइ छ।