चितवन–३ सोबिता गौतम— जित सुनिश्चित हुने दाबी, जनतामा बढ्दो विश्वास

theoutsidenepal.com

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले मनोनयन दर्ता गरेसँगै चुनावी माहोल थप उत्साहित बनेको छ। मनोनयनका क्रममा आफूले उत्साहसँगै ठूलो जिम्मेवारीको अनुभूति गरेको बताउँदै गौतमले चितवन–३ का जनताको आवाज संसदसम्म पुर्‍याउने दृढ संकल्प व्यक्त गरेकी छन्।


२०७९ सालको निर्वाचनमा काठमाडौं–२ बाट उम्मेदवारी दर्ता गर्दै राजनीतिक यात्रा सुरु गरेकी गौतमले काठमाडौंलाई आफ्नो राजनीतिक जन्मभूमि भन्दै त्यहाँबाट प्राप्त अनुभव, जनविश्वास र संसदीय अभ्यासलाई अब चितवन–३ को प्रतिनिधित्वमार्फत राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताइन्। उनले सांसदको जिम्मेवारी भूगोलभन्दा माथि देशको भविष्य निर्माणसँग जोडिएको उल्लेख गर्दै चितवन–३ बाट निर्वाचित भएपछि जनताको आवाजलाई राष्ट्रिय नीतिमा परिणत गर्ने प्रतिवद्धता व्यक्त गरिन्।


मनोनयन दर्ताका क्रममा चितवन–३ का मतदाता, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूले दिएको माया, आत्मीयता र हौसलाले आफ्नो राजनीतिक यात्रालाई थप बलियो बनाएको उनले बताइन्। साथै काठमाडौं–२ का समर्थक तथा अभिभावकहरूसँग पनि आशीर्वाद माग्दै उनले देशव्यापी सहकार्य र समर्थनको अपेक्षा राखेकी छन्।


भरतपुर–१५ मंगलपुरकी स्थानीय बासिन्दा रहेकी गौतमले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर देशका लागि प्रभावकारी कानून निर्माण गर्ने संवैधानिक जिम्मेवारी वहन गर्नका लागि भएको स्पष्ट पारिन्। चितवन–३ का विभिन्न विकास योजना तथा कानुनी जटिलताहरू समाधान गर्न संघीय सांसदको सक्रिय समन्वय आवश्यक रहेको बताउँदै उनले आफ्नो क्षेत्राधिकारभित्र रहेर विकास र नीतिगत सुधारमा उल्लेखनीय योगदान गर्ने वाचा गरेकी छन्।


यतिबेला चितवन–३ मा गौतमको राजनीतिक पकड बलियो बन्दै गएको स्थानीय विश्लेषण छ। युवा, महिला तथा नयाँ पुस्तामाझ उनको लोकप्रियता बढ्दै गएको र जनताको विश्वास जित्दै अघि बढिरहेको चर्चा चुनावी मैदानमा सुनिन थालेको छ। समर्थकहरूका अनुसार उनको जित सुनिश्चितजस्तै देखिएको छ र चितवन–३ मा सकारात्मक ऊर्जा र परिवर्तनको लहर फैलिएको छ।


गौतमले अन्त्यमा जनताको सुख–दुःखमा राज्यको बलियो उपस्थिति सुनिश्चित गर्ने र जनताको भरोसालाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। चुनावी मैदानमा उनको सक्रियता, स्पष्ट भिजन र ऊर्जावान नेतृत्वशैलीले चितवन–३ को निर्वाचनलाई थप रोमाञ्चक र आशावादी बनाएको छ।


प्रतिक्रिया