एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलाको निमन्त्रणासहित रमेश श्रेष्ठद्वारा महत्वपूर्ण भेटघाट

theoutsidenepal.com

एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलाको निमन्त्रणासहित रमेश श्रेष्ठद्वारा महत्वपूर्ण भेटघाट

वैदेशिक रोजगार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

द टन न्युज । काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले नेपाल बसाइका क्रममा आगामी डिसेम्बर ११ र १२ तारिख कतारमा आयोजना हुन गइरहेको एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलामा सहभागिताका लागि औपचारिक निमन्त्रणासहित महत्वपूर्ण भेटघाट गरेका छन्।

श्रेष्ठले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुँवर), निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी तथा एफएनसीसीआईका कार्यकारी सदस्य भक्तबहादुर हमालसँग भेटघाट गर्दै क्षेत्रीय भेलाको निमन्त्रणा औपचारिक रूपमा पेश गरेका हुन्।

भेटका क्रममा वैदेशिक रोजगार तथा व्यवसायिक क्षेत्रका समसामयिक विषय, व्यवसायीका हकहित, नेपाली श्रमिकका सवाल तथा श्रमिक र व्यवसायीबीचका साझा सरोकारका विषयमा महत्वपूर्ण छलफल भएको श्रेष्ठले बताएका छन्।

त्यस अवसरमा आगामी दिनमा निजी क्षेत्र, वैदेशिक रोजगार व्यवसायी र गैरआवासीय नेपाली संघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श भएको थियो।

मध्यपूर्वमा ठूलो संख्यामा रहेका नेपाली श्रमिक तथा प्रवासी नेपाली समुदायका साझा समस्या र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नेपालका निजी क्षेत्र, वैदेशिक रोजगार व्यवसायी र एनआरएनएबीच समन्वय र सहकार्य आवश्यक रहेको श्रेष्ठको भनाइ छ।

उनले एनआरएनए, निजी क्षेत्र तथा वैदेशिक रोजगार व्यवसायीबीचको सम्बन्धलाई थप सुदृढ गर्दै मध्यपूर्वमा रहेका नेपाली समुदायका विषयलाई नीति निर्माण र सरोकारवाला निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन यस्ता भेटघाट तथा संवादले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

श्रेष्ठले भेटघाटका लागि समय प्रदान गर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष खत्री, निवर्तमान अध्यक्ष भण्डारी तथा एफएनसीसीआईका कार्यकारी सदस्य हमालप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

डिसेम्बर ११ र १२ मा कतारमा हुने एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलालाई मध्यपूर्वमा रहेका नेपाली समुदाय, वैदेशिक रोजगार र निजी क्षेत्रसँग सम्बन्धित साझा सवालमा संवाद तथा सहकार्य अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

रमेश श्रेष्ठ
मध्यपूर्व संयोजक
गैरआवासीय नेपाली संघ


प्रतिक्रिया