२०७४ देखि आजसम्म दिनेश कोइरालाको अडान : ‘पदभन्दा माथि निष्ठा, परिस्थितिभन्दा बलियो अडान’

theoutsidenepal.com

२०७४ देखि आजसम्म दिनेश कोइरालाको अडान : ‘पदभन्दा माथि निष्ठा, परिस्थितिभन्दा बलियो अडान’

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसका बौद्धिक एवं प्रभावशाली नेता दिनेश कोइरालाले आफ्नो राजनीतिक यात्रामा निरन्तरता, निष्ठा र अडानलाई प्राथमिकतामा राख्दै आएको सन्देश दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिएका कोइरालाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र उनको राजनीतिक प्रतिबद्धता र वैचारिक यात्रालाई पुनः चर्चामा ल्याएको छ।

कोइरालाले सामाजिक सञ्जालमार्फत २०७४ सालदेखि आजसम्मको आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै अवरोध र चुनौती आए पनि आफ्नो अडान कहिल्यै नझुकेको बताएका छन्।


उनले लेखेका छन्, ‘२०७४ देखि आजसम्म, अवरोध आए—अडान झुकेन। पदभन्दा माथि निष्ठा। परिस्थितिभन्दा बलियो अडान। र संघर्षभन्दा लामो यात्रा।’

कोइरालाको यो अभिव्यक्तिलाई १५औँ महाधिवेशनमा उनको उम्मेदवारीसँग जोडेर हेर्न थालिएको छ। लामो समयदेखि नेपाली कांग्रेसको राजनीति, संगठन र वैचारिक बहसमा सक्रिय रहँदै आएका कोइरालालाई पार्टीभित्र अध्ययनशील, बौद्धिक र स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छ।

चितवनको राजनीतिक वृत्तमा प्रभावशाली उपस्थिति बनाएका कोइरालाले यसपटक सह–महामन्त्री पदमा उम्मेदवारी दिएसँगै उनको राजनीतिक यात्रा थप निर्णायक मोडमा पुगेको देखिएको छ। पार्टीमा पुस्तान्तरण, संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने बहस चलिरहेका बेला कोइरालाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनको पछिल्लो भनाइमा पद प्राप्तिलाई भन्दा राजनीतिक निष्ठा, विचार र निरन्तर संघर्षलाई केन्द्रमा राखिएको देखिन्छ। ‘पदभन्दा माथि निष्ठा’ भन्ने उनको सन्देशले आफूले पदका लागि मात्र राजनीति नगरेको, बरु विचार र प्रतिबद्धतालाई प्राथमिकता दिएको संकेत गरेको छ।

१५औँ महाधिवेशनमा सह–महामन्त्री पदका लागि मैदानमा उत्रिएका कोइरालाले अब आफूले लामो समयदेखि अघि बढाउँदै आएको राजनीतिक यात्रा र विचारलाई महाधिवेशन प्रतिनिधिको मतमार्फत अनुमोदन गराउने अवसर पाएका छन्।

कोइरालाले आफ्नो स्टाटसको अन्त्यमा भनेका छन्, ‘अब यो यात्रालाई चिन्ने र साथ दिने समय हो। जय नेपाल।’

उनको यो अपिलले १५औँ महाधिवेशनमा निष्ठा, विचार र संघर्षको राजनीतिलाई आफ्नो मुख्य आधार बनाएर प्रतिनिधिहरूसँग समर्थन मागेको स्पष्ट सन्देश दिएको छ।


प्रतिक्रिया