द टन न्युज । विशेष रिपोर्ट
गौरव भण्डारीद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश भूगोलअन्तर्गत युवा खुला (३५ वर्षमुनि) तर्फ गौरव भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
ताप्लेजुङका २३ वर्षीय भण्डारी कांग्रेसको नयाँ पुस्ताको प्रतिनिधिका रूपमा महाधिवेशनमा अघि आएका हुन्। पछिल्लो समय कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको सहभागिता र नेतृत्वमा पुस्तान्तरणको विषय विशेष चर्चामा छ।
भण्डारीले महाधिवेशनको सन्दर्भमा युवालाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा सहभागी गराउने विषयलाई महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार वडा तहदेखि नै ३५ वर्षमुनिका युवा र महिलाहरू नेतृत्वमा आउँदा स्थानीय तहका समस्या र आवाजलाई केन्द्रसम्म पुर्याउने प्रभावकारी माध्यम बन्न सक्छ।
विशेष महाधिवेशनपछि युवा तथा पेशागत क्लस्टर छुट्याइएकाले नयाँ पुस्ताले केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्ने अवसर पाएको उनको भनाइ छ। समाजमा कमजोर वा कम सुनिएका आवाजलाई प्राथमिकताका साथ सम्बोधन गर्न सके कांग्रेस नयाँ पुस्तासँग थप जोडिन सक्ने धारणा पनि उनले सार्वजनिक गरेका छन्।
यसअघि ताप्लेजुङबाट भएको महाधिवेशन प्रतिनिधि निर्वाचनमा पनि भण्डारी युवा ३५ वर्षमुनि पुरुषतर्फ ४६८ मतसहित निर्वाचित भएको विवरण सार्वजनिक भएको थियो।
अब कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश भूगोलअन्तर्गत युवा खुला ३५ वर्षमुनि समूहबाट केन्द्रीय सदस्य पदका उम्मेदवारका रूपमा भण्डारीको उम्मेदवारीले नयाँ पुस्ताको प्रतिनिधित्वको बहसलाई थप अगाडि ल्याएको छ।