रामेछाप — प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले रामेछापलाई कृषि, पर्यटन र उद्यमशीलताको केन्द्र बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्। मन्थली–४ गैराथोकका स्थायी बासिन्दा श्रेष्ठले आफू रामेछापका छोरा, भाई र साथीको हैसियतले जनताको सेवा गर्न मैदानमा उत्रिएको बताएका छन्।
बेलायतमा सफल व्यवसाय सञ्चालन गर्दै ३३ भन्दा बढी देशका युवालाई सीप र रोजगारी प्रदान गरिसकेको अनुभव बोकेका श्रेष्ठले विदेशमा कमाएको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभव अब जन्मभूमिको विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालमै Quick Sewa र Innovation Institute Technology सञ्चालन गर्दै युवालाई अवसर सिर्जना गरिरहेको उल्लेख गरे।
उच्च शिक्षामा M.Ed इन्जिनियरिङ, लन्डनबाट MA, त्रिभुवन विश्वविद्यालयबाट MPA तथा सामाजिक कार्यमा PhD Scholar रहेका श्रेष्ठले वैज्ञानिक सोच र डाटामा आधारित नीतिमार्फत रामेछापको समग्र विकास गर्ने दाबी गरेका छन्। “नोकरी खोज्ने होइन, सिर्जना गर्ने” भन्ने नारासहित उनले युवालाई रोजगारी दिने वातावरण बनाउने योजना सार्वजनिक गरेका छन्।
उनका अनुसार कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकासमार्फत रामेछापलाई आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य रहेको छ। उनले मतदातासँग आँखा चिन्हमा मतदान गरी बहुमतसहित विजयी गराउन अपिल गर्दै “नयाँ सोच, नयाँ योजना र नयाँ नेतृत्वले मात्रै रामेछाप बदल्न सक्छ” भन्ने विश्वास व्यक्त गरेका छन्।
श्रेष्ठको सक्रिय अभियानले स्थानीय युवादेखि बुद्धिजीवीसम्मको ध्यान आकर्षित गरिरहेको छ भने चुनावी माहोलमा उनको घोषणा चर्चाको केन्द्र बनेको छ।