प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किए

theoutsidenepal.com

प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किए

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको आवाज विश्वमञ्चमा प्रस्तुत

द टन न्युज । विशेष रिपोर्ट

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए। न्यूयोर्कमा आयोजित महासभाको उच्चस्तरीय सत्रमा उनले नेपालको तर्फबाट सम्बोधन गर्दै जलवायु परिवर्तन, हिमाली क्षेत्रको बढ्दो जोखिम, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई प्रमुखताका साथ उठाएका थिए।

प्रधानमन्त्री शाहले महासभामा हालै नेपालमा आएको भोटेकोशी–त्रिशूली बाढी तथा त्यसबाट सिर्जित मानवीय र भौतिक क्षतिलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।

उनले जलवायु संकट सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर प्रभाव नेपालजस्ता मुलुकले भोगिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान हिमाली क्षेत्रमा बढ्दो जोखिमतर्फ आकर्षित गरेका थिए।

प्रधानमन्त्री शाहले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्ने सन्देशसहित हिमनदी पग्लिने, पहिरो तथा बाढीजस्ता प्राकृतिक जोखिम नेपालमा मात्र सीमित नरहेको बताएका थिए। यस्ता जोखिमको प्रभाव चीन र भारतसहित समग्र हिमाली तथा दक्षिण एसियाली क्षेत्रमा फैलिन सक्ने विषय उनले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए।

उनले जलवायु न्यायलाई केवल आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सीमित गर्न नहुने धारणा पनि राखेका थिए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देशहरूका साथै भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका थिए।

महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै नेपालका प्राथमिकता, जलवायु संकट, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफलसमेत गरेका थिए।

प्रधानमन्त्रीको महासभा सहभागितालाई नेपालले आफ्ना राष्ट्रिय सरोकार र हिमाली क्षेत्रका साझा समस्यालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। विशेषगरी पछिल्ला विपद्का घटनालाई जलवायु परिवर्तनसँग जोड्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रयास उनको सम्बोधनको प्रमुख विषय बनेको थियो।

प्रधानमन्त्री शाहको स्वदेश फिर्तीसँगै अब महासभामा उठाइएका विषय, अन्तर्राष्ट्रिय भेटवार्ताबाट प्राप्त सम्भावित सहकार्य तथा नेपालका प्राथमिकताहरूलाई व्यवहारमा अघि बढाउने चुनौती सरकारसामु रहनेछ।

द टन न्युज । विशेष रिपोर्ट


प्रतिक्रिया