डा. सुनील शर्माद्वारा महामन्त्री पदमा मनोनयन दर्ता
‘देश र पार्टीको नीति बदल्न तथा नेता–कार्यकर्ताबीचको खाडल पुर्न मेरो उम्मेदवारी’
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनील शर्माले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्तासँगै उनले कांग्रेसको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउँदै आफू त्यसैका लागि महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। देश बदल्ने, पार्टीको नीति र कार्यशैली बदल्ने तथा नेता र जनताबीच बढेको दूरी घटाउने आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
मनोनयन दर्तापछि शर्माले कांग्रेसको १५औँ महाधिवेशन स्वतन्त्र, निष्पक्ष र निर्धारित समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए। निर्वाचन ढिलो गराउने प्रयास भइरहेको र त्यसका पछाडि षड्यन्त्र हुन सक्ने आफूले सुनेको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आउन नदिन पार्टी नेतृत्वलाई आग्रहसँगै खबरदारीसमेत गरे।
‘यो अधिवेशन फ्रि एन्ड फेयर हुन जरुरी छ। कांग्रेसजस्तो गरिमामय पार्टीको अधिवेशनलाई संसारले हेरिरहेको हुन्छ,’ उनले भने, ‘निर्वाचन ढिलो गराएर २७–२८ गतेतिर पुर्याउने प्रयत्न हुँदैछ भन्ने मैले सुनेको छु। त्यस्तो दुर्भाग्यपूर्ण स्थिति आउनु हुँदैन।’
उनले मतदान र मतगणना छिटो सम्पन्न गरेर महाधिवेशन प्रतिनिधिलाई घर फर्कने वातावरण बनाउनुपर्ने बताए। ‘भोलि–पर्सिमै मतदान सकेर, मतगणना सकेर हाम्रा प्रतिनिधिहरू घर फर्कने अवस्था प्रदान गरिदिनुपर्छ,’ उनले भने। निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने कुनै पनि परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ थियो। महाधिवेशन प्रतिनिधिले दिएको मत सुरक्षित रूपमा मतपेटिकामा पुग्ने र त्यही मत पारदर्शी ढंगले गणना हुने सुनिश्चितता हुनुपर्ने उनले बताए।
‘मतदाताले दिएको मत सुरक्षित रूपमा बाकसमा पर्नुपर्छ। त्यो मत सुरक्षित रूपमा गणना गर्न सकिनुपर्छ,’ शर्माले भने, ‘लोकतन्त्रको रक्षा गर्ने कांग्रेसजस्तो पार्टी र यसका नेताहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण सिर्जना गर्नुपर्छ।’ महामन्त्रीमा उम्मेदवारी दिनुको कारणबारे उनले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन आवश्यक रहेको बताए। ‘देश बदल्न, पार्टीको नीति बदल्न र नेता तथा जनताबीचको खाडल पुर्न मेरो उम्मेदवारी हो,’ उनले भने, ‘लोकतान्त्रिक पार्टीका रूपमा कांग्रेसको खस्किएको छवि उकास्न र तमाम कांग्रेस कार्यकर्ताको पक्षमा काम गर्न मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ।’
शर्माले कांग्रेसभित्र नेतृत्व र कार्यकर्ताबीच बढेको दूरी अन्त्य गर्न आफूले भूमिका खेल्ने बताए। पार्टीको नीति निर्माणदेखि निर्णय प्रक्रियासम्म कार्यकर्ताको सहभागिता बढाउनुपर्ने उनको भनाइ छ। नेतृत्वलाई जनतासँग जोड्ने र कार्यकर्तालाई पार्टीको केन्द्रमा राख्ने उनको प्रतिबद्धता छ। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको प्रतिस्पर्धाका रूपमा नलिएको बताए। कांग्रेसलाई बलियो र जनतामाझ भरोसायोग्य पार्टीका रूपमा पुनःस्थापित गर्न आफूले महामन्त्रीको जिम्मेवारी खोजेको उनको भनाइ छ।
शर्माको राजनीतिक यात्रासँगै सामाजिक क्षेत्रमा गरेको कामलाई पनि उनको उम्मेदवारीको आधारका रूपमा हेरिएको छ। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय उनले विपन्न तथा असहाय बिरामीका लागि निःशुल्क उपचार, विद्यार्थीलाई छात्रवृत्ति र स्वास्थ्य शिक्षामा पहुँच विस्तारका काम गर्दै आएका छन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् र पढ्न चाहने विद्यार्थीले अवसर पाऊन् भन्ने उद्देश्यले उनले यस्ता अभियान सञ्चालन गर्दै आएका हुन्।
राजनीतिलाई पद र सुविधाभन्दा जनसेवाको माध्यम बनाउनुपर्ने धारणा राख्दै आएका शर्माले समाजसेवामार्फत पनि जनतासँग प्रत्यक्ष जोडिन सकिने बताउँदै आएका छन्। स्वास्थ्य र शिक्षाका क्षेत्रमा गरेको कामलाई उनले राजनीतिबाट अपेक्षित परिवर्तन ल्याउने आफ्नो सोचसँग जोड्दै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला शर्माको उम्मेदवारीले महामन्त्रीको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। यसअघि नै उनले आफू महामन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने बताउँदै आएका थिए। महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाट र छलफललाई उनले निरन्तरता दिँदै आएका छन्।
मनोनयन दर्तापछि भने उनको पक्षमा प्रतिनिधिहरूको सक्रियता थप देखिएको छ। महाधिवेशनस्थलमा शर्माको समर्थनमा नाराबाजी भएको थियो। ‘सुनील दाइ हाई–हाई’ भन्दै प्रतिनिधिहरूले उनको पक्षमा मत मागेका थिए। मनोनयन दर्तालगत्तै प्रतिनिधिहरू शर्माको पक्षमा खुलेर प्रचारमा लागेको देखिएको छ।
शर्माले पनि आफूलाई कार्यकर्ताको विश्वास रहेको बताएका छन्। ‘मलाई कार्यकर्ताको विश्वास छ। उहाँहरूले भारी मतले विजयी गराउनुहुनेछ,’ उनले भने।
महामन्त्री पदका लागि उम्मेदवारी दर्ता भएसँगै शर्माको पक्षमा प्रतिनिधिहरूसँगको भेटघाट, छलफल र मत माग्ने क्रम थप तीव्र बनेको छ। उनका समर्थकहरू पनि उनलाई महामन्त्रीमा जिताउन प्रतिनिधिहरूसँग निरन्तर संवाद र भेटघाटमा जुटेका छन्।
नयाँ नेतृत्व चयनका लागि असोज २२ गते मतदान हुने कार्यतालिका छ। महाधिवेशन प्रतिनिधिहरू आफ्नो रोजाइको नेतृत्वका पक्षमा मत जोड्न सक्रिय भइरहेका छन्। शर्माको उम्मेदवारीसँगै कांग्रेसको महामन्त्री पदको प्रतिस्पर्धा पनि थप चासोको विषय बनेको छ।