अमर सरको निधनप्रति आरके शर्माको प्रश्न : श्रद्धाञ्जलीसँगै स्वतन्त्र अनुसन्धान र जवाफदेहिताको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले भरतपुरका शैक्षिक अभियन्ता ‘अमर सर’को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाको स्वतन्त्र, निष्पक्ष तथा प्राविधिक अनुसन्धानको माग गरेका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत अमर सरको निधनले परिवार र आफन्त मात्र नभई भरतपुरका हजारौँ विद्यार्थी तथा सिंगो समाजलाई नै अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। उनले अमर सरले बालबालिकाको शैक्षिक भविष्य उज्यालो बनाउन आफ्नो जीवन समर्पित गरेको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
तर, श्रद्धाञ्जलीसँगै शर्माले दुर्घटनाको प्रकृतिबारे गम्भीर प्रश्नसमेत उठाएका छन्। गुडिरहेको सवारीसाधनमा अचानक आगलागी कसरी भयो र आगलागीपछि यात्रुले सुरक्षित रूपमा बाहिर निस्कने पर्याप्त अवसर किन पाएनन् भन्ने विषयमा उनले प्रश्न गरेका छन्।
विशेषगरी नेपालमा सञ्चालनमा रहेका विद्युतीय सवारीसाधन (EV) लगायतका सवारीको ब्याट्री सुरक्षा, आगलागी नियन्त्रण प्रणाली, आपत्कालीन बाहिरिने व्यवस्था तथा दुर्घटनापछिको सुरक्षा प्रणाली सम्बन्धी परीक्षण र नियामकीय अनुगमन कति प्रभावकारी छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको शर्माको भनाइ छ।
उनले दुर्घटनाको कारण अनुमानका आधारमा निष्कर्ष निकाल्न नहुने भन्दै स्वतन्त्र, निष्पक्ष र प्राविधिक अनुसन्धानमार्फत सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।
अनुसन्धानबाट सवारीको प्राविधिक त्रुटि, सुरक्षा प्रणालीको कमजोरी, नियामकीय कमजोरी वा कुनै पक्षको लापरवाही पुष्टि भएमा सम्बन्धित पक्षलाई कानुनी रूपमा जवाफदेही बनाउनुपर्ने शर्माको माग छ।
साथै, भविष्यमा यस्ता दुर्घटनाबाट अर्को नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपालमा सवारी तथा EV सुरक्षा मापदण्डलाई अझ कठोर, वैज्ञानिक र प्रभावकारी बनाउनुपर्ने उनले बताएका छन्।
शर्माले आफ्नो धारणा कुनै निश्चित कम्पनी वा ब्रान्डविरुद्ध लक्षित नभएको स्पष्ट गर्दै नागरिकको जीवन सुरक्षा, सत्यको खोजी र जवाफदेहिताका लागि प्रश्न उठाइएको बताएका छन्।
‘अमर सरलाई श्रद्धाञ्जली मात्र होइन—सत्य, जवाफदेहिता र सुधार पनि चाहिन्छ’ भन्ने भावसहित शर्माले Justice for Amar Sir को आह्वान गरेका छन्।
उनले दिवंगत अमर सरको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त, विद्यार्थी तथा सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।